नक्कली भुटानी शरणार्थी प्रकरण

प्रतिशोध राखेर फसाउने प्रयास भए एमाले चुप बस्दैन : ओली

बिहीबार, वैशाख २८, २०८०

काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा जो सुकै जुन पार्टीका भए पनि दोषी देखिए कारबाही हुने दृढता जनाएका छन् । अध्यक्ष ओलीले देशको बिग्रँदो अर्थतन्त्र र भ्रष्टाचारबारे ढाकछोप गर्ने प्रयास भइरहेको आरोप लगाए ।

ललितपुरको च्यासलमा बिहीबारदेखि सुरु एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले भन्, ‘राज्यलाई ठगेर, कानुन मिलाएर वा छलेर विभिन्न ढङ्गले व्यक्तिहरूको हातमा राज्यको ढुकुटी हस्तान्तरण गर्ने भ्रष्ट व्यवहार, मूल्यमान्यता इथिक्स र नैतिकता अन्तर्गतको होइन । कानुन बमोजिम होइन, पारदर्शी होइन । अपारदर्शी, गैर कानुनी ठगी गर्ने र राज्यलाई गम्भीर नोक्सान गर्ने कामहरू भइरहेका छन् ।’

उनले रोक्नै नसक्ने अवस्था आएपछि पछिल्लो पटक भुटानी शरणार्थी प्रकरण सतहमा आएको पनि बताए । उनले यस प्रकरणमा एमालेमै रहेकाहरूको नाम आएको भन्दै जोसुकैको नाम आए पनि दोषीलाई कारबाही हुने बताए । 

उनले एमालेलाई प्रतिशोध राखेर वा पूर्वाग्रहपूर्ण ढंगले फसाउने प्रयास भएको अवस्थामा भने एमाले चुप लागेर नबस्ने बताए । अध्यक्ष ओलीले विपक्षीहरूको मुख थुन्ने प्रयास भएको आरोप लगाउँदै केही दिन पहिला सांसद अमरेशकुमार सिंहमाथि अख्तियारमा परेको उजुरी एक उदाहरण रहेको बताए ।

अध्यक्ष ओलीले अनुसन्धानलाई अर्कोतिर लैजाने र अनावश्यक रूपमा पूर्वाग्रहपूर्ण ढंगले निर्दोषलाई फसाउने, आरोप लगाउने काम भने हुन नहुने बताए । ‘अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न व्यक्तिहरूको नाम आइरहेको छ, हाम्रै साथीहरूको नाम पनि परेको छ, यसमा हामी प्रष्ट हुनु जरुरी छ कि भ्रष्टाचार गर्ने कार्यमा जो सुकैको नाम आओस्, यदि दोषी छ भने उसलाई कारबाही हुनुपर्छ । तर जबसम्म मान्छे दोषी ठहर हुदैन, त्यतिबेलासम्म हामीले त्यस्तो आरोप लागेको व्यक्तिलाई दोषी करार गरिहाल्नु हुँदैन ।’

ओलीले तत्कालीन माओवादी लडाकु व्यवस्थापनका नाममा क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारको छानविन हुनुपर्ने पनि बताए ।

‘क्यान्टोनमेन्टमा नभएका मान्छेको पैसा व्यक्तिले खाएका छन् । क्यान्टोन्मेन्टमा भएको भ्रष्टाचार हो तर कोही पनि बोल्न तयार छैनन्’, उनले भने, ‘राज्यको ढुकुटी दुरुपयोग गरेर व्यक्तिले कुम्ल्याउन मिल्दैन । अहिले लडाकुका नाममा दुई लाख बाँडिदैछ यो पनि दुरुपयोग हो ।’

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १२:५२
प्रतिक्रिया दिनुहोस्