शरणार्थी प्रकरणले राजनीति तरंगित भएपछि शीर्ष ३ नेता फेरि छलफमा जुटे

बुधबार, वैशाख २७, २०८०

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका नेताहरू पक्राउ पर्न थालेपछि प्रमुख दलका ३ शीर्ष नेताहरु बुधबार पनि छलफल थालेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको भन्दै कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणलाई प्रहरीले बुधबार उनकै निवासबाट पक्राउ गरेपछि तीन नेताहरू छलफलमा जुटेका हुन् । 

सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रमुख तीन शीर्ष नेताबीच छलफल भइरहेको छ ।

छलफलमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी छन् ।

उनीहरूबीच समसमायिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ । शरणार्थी प्रकरण, संक्रमणकालीन न्याय, नागरिकता विधेयकलगायतका विषयमा छलफल भइरहेको जनाइएको छ । 

यसअघि मंगलबार पनि ३ शीर्ष नेताहरुबीच छलफल भएको थियो ।
 


 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १४:४५
प्रतिक्रिया दिनुहोस्