रवि लामिछानेले धन्यवाद दिए प्रहरी, गृहमन्त्री र प्रधानमन्त्रीलाई

बुधबार, वैशाख २७, २०८०

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल प्रहरी, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धन्यवाद दिएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँडलाई आज प्रहरीले पक्राउ गरेपछि लामिछानेले धन्यवाद दिएका हुन् । उनले धन्यवादसँगै यो प्रकरणको अनुसन्धान नरोकियोस भन्ने धारणा पनि व्यक्त गरेका छन् ।

‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्रीज्यू, धन्यवाद प्रधानमन्त्रीज्यू । यो शिलशिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्,’ सभापति लामिछानेले सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गरेका छन् ।

पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता खाँड पक्राउ पर्नुअघि लामिछानेले ‘ठुलाबडालाई जोगाउने खेल भएको’ भन्दै असन्तुष्टी जनाएका थिए ।

‘शिर्षहरुको तिब्र भेटघाट,फरार (गराइएका) अझै गायब, नाम आएकाहरुको अनुसंधान फितलो !! खबरदार, अनुसन्धानले ठुला नेता र तिनका  सन्तानको ‘जगजाहेर तान्डव’लाई छोड्यो भने रास्वपा हेरेर बस्दैन। यो आँधीलाई ख्याल सम्झने भुल नगर्नुहोला। प्रमज्यू, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस !’ लामिछानेले खाँड पक्राउअघि ट्वीटरमा लेखेका थिए ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १०:४२
प्रतिक्रिया दिनुहोस्