प्री–बजेटका बारेमा आज प्रतिनिधिसभामा जवाफ दिँदै अर्थमन्त्री महत

बुधबार, वैशाख २७, २०८०

काठमाडौँ– अर्थमन्त्री डा रामशरण महतले प्री–बजेटका बारेमा आज प्रतिनिधिसभामा जवाफ दिँदैछन् ।

प्री–बजेटका बारेमा सांसदहरूले राखेका जिज्ञासाको बारेमा प्रतिनिधिसभामा आज अर्थमन्त्री महतले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

गत आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले गरेको निर्णयअनुसार तीन दिनसम्म सांसदहरूले अर्थमन्त्री महतलाई प्री–बजेटका बारेमा सवाल गरेका थिए । अर्थमन्त्री महतले ाज त्यसैको जवाफ दिन लागेका हुन् ।

आज प्रि–बजेट छलफलको अन्तिम दिन पनि हो । गत आइतबार अर्थमन्त्री महतले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णय अनुसार उक्त प्रस्तावमाथिको छलफल आज सकिँदैछ ।

प्री–बजेट छलफलमा सांसदहरूले उठाएका प्रश्नका जवाफ अर्थमन्त्रीले दिइसकेपछि सरकारको नीति तथा कार्यक्रम आउनेछ । त्यसपछि जेठ १५ गते बजेट प्रस्तुत हुनेछ ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  ०९:२२
प्रतिक्रिया दिनुहोस्