प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन सुरु

आइतबार, वैशाख २४, २०८०

काठमाडौं –संघीय संसद्को बर्खे अधिवेशन आइतबारदेखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेश आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ भएको हो ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा अपरान्ह ४ बजेदेखि राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । बैठकको सुरुमै सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा पढेर सुनाएका थिए ।

यस अधिवेशनमा मुख्यरुपमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । अधिवेशन प्रारम्भसँगै प्रि–बजेट छलफल गरिने भएकाले अर्थमन्त्री डा प्रकाशशरण महतले बैठकमा आर्थिक वर्ष २०८०÷८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका छन् ।

यस्तै, राष्ट्रियसभाको १४औँ अधिवेशन पनि सुरु भएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशनको पहिलो बैठकको प्रारम्भमै सांसदहरुलाई स्वागत गरे । बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र र वर्तमान मन्त्रिपरिषद्मा पछिल्लो समय भएको मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रको व्यहोरा अध्यक्ष तिमिल्सिनाले पढेर सुनाए ।

माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा ५९ सदस्यीय छ । समाजका विभिन्न क्षेत्र र समुदायको प्रतिनिधित्व रहेको राष्ट्रियसभामा प्रबुद्ध व्यक्तिको प्रतिनिधित्व रहेको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १६:४३
प्रतिक्रिया दिनुहोस्