को हुन् नवनियुक्त मन्त्री सुरेन्द्र आचार्य ?

आइतबार, वैशाख २४, २०८०

काठमाडौं –नेपाली कांग्रेसका सांसद सुरेन्द्रराज आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा नियुक्त भएका छन् । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आचार्यलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

आचार्य पार्टीभित्र संस्थापनइतर डा. शेखर कोइरालानिकट नेता मानिन्छन् । शेखर समूहबाट उनी मन्त्री बनाइएका हुन् ।

६५ वर्षीय आचार्य यसअघि सिँचाइ राज्यमन्त्री बनिसकेका हुन् । हाल उनी प्रतिनिधिसभा सदस्यसँगै कांग्रेस लुम्बिनी प्रदेश महामन्त्रीको जिम्मेवारीमा पनि छन् । आचार्य कांग्रेस कपिलवस्तुका पूर्वसभापति समेत हुन् ।

मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी कपिलवस्तु–२ बाट निर्वाचित भएका छन् । उनका निकतटम प्रतिस्पर्धी नेकपा (एमाले)का बृजेशकुमार गुप्ता थिए ।

२०१५ साल वैशाख १ गते जन्मिएका आचार्यले काठमाडौंको शंकरदेव क्याम्पसबाट स्नातकसम्मको अध्ययन पूरा गरेका छन् । उनी कपिलवस्तुको बृद्धभूमि नगरपालिकास्थित रन्गाईका स्थायी बासिन्दा हुन् ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १४:२२
प्रतिक्रिया दिनुहोस्