भोलिदेखि संसदको बजेट अधिवेशन सुरु हुँदै [कार्यसूचीसहित]

शनिबार, वैशाख २३, २०८०

काठमाडौं–संघीय संसद्को बजेट अधिवेशन आइतबारदेखि सुरु हुँदै छ । संसद्का दुवै सदनको बैठक आइतबार अपराह्न ४ बजे बोलाइएको छ ।

राष्ट्रियसभाको १४औँ अधिवेशनको पहिलो बैठक पनि आइतबार नै बस्न लागेको छ । प्रतिनिधिसभाको यो दोस्रो अधिवेशनको पहिलो बैठक हो ।संसद्को यो अधिवेशनबाट सरकारका नीति तथा कार्यक्रम र नयाँ बजेट पारितलगायत कार्य गरिनेछ ।

आइतबारको बैठकका लागि कार्यसूची तय गरिएको छ । प्रतिनिधिसभा बैठकको सुरुआतमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।

सभामुखले नै राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री पदमा नियुक्तिसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन् ।

त्यसपछि सभामुखले सभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै, कानुन, न्याय संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेस गर्नेछन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आ.व. २०८०÷०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक)माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
sandsad karya suchi1683372854.jpg

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १७:१९
प्रतिक्रिया दिनुहोस्