बेलायतका राजाको राज्याभिषेकमा सहभागी हुन भारतका उपराष्ट्रपति धनखर बेलायत प्रस्थान

शनिबार, वैशाख २३, २०८०

नयाँ दिल्ली– बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन भारतका उपराष्ट्रपति जगदीप धनखर शुक्रबार बिहान बेलायतको राजधानी लण्डनतर्फ प्रस्थान गरेका छन् । आज राजा चाल्र्सको राज्याभिषेक हुँदैछ । 

दुईदिने बेलायत भ्रमणका क्रममा उनी राज्याभिषेक समारोहमा सहभागी हुने विश्वका विभिन्न सरकार एवम् राष्ट्र  प्रमुखसँग सामूहिक भेट गर्नेछन् ।

समारोहमा करिब दुई हजार विश्वका विशिष्ट व्यक्ति सहभागी हुने कार्यक्रम छ । उपराष्ट्रपतिका साथ उनकी धर्मपत्नी सुदेश धनखर पनि लण्डन प्रस्थान गरेकी छिन् । 

बेलायत सरकारले भारतलगायत अन्तरराष्ट्रिय समुदायलाई राज्याभिषेक समारोहमा आमन्त्रण गरेको छ ।  वेस्टमिनिष्टर गिर्जाघरमा धार्मिक विधिपूर्वक राजा चाल्र्स तृतीय र रानी क्यामिलाको राज्याभिषेक हुनेछ । राज्याभिषेकमा उपस्थित हुन पाउनु भारतका निम्ति सम्मानको अवसर भएको बताउँदै त्यसबाट भारत र बेलायतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन मद्दत पुग्ने कूटनीतिक अधिकारीहरूले बताएका छन् । 

गत वर्ष महारानी एलिजावेथ द्वितीयको निधनपछि  राज चाल्र्सले राजसिंहासन सम्हाल्नुभएको हो । सत्तरी वर्षअघि महारानी एलिजावेथको राज्याभिषेक भएको थियो । भोलिको राज्याभिषेकलाई बेलायतभर राष्ट्रिय उत्सवका रुपमा मनाइँदैछ । 

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  ०५:५९
प्रतिक्रिया दिनुहोस्