शिक्षाको गुणस्तर सुधारिए बसाइँसराई रोकिन्छ : सभामुख घिमिरे

युवाको बढ्दो वैदेशिक पलायन रोक्नुपर्ने
बुधबार, वैशाख २०, २०८०

अर्घाखाँची– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सामुदायिक विद्यालयको पढाइको गुणस्तर सुधार नगरेसम्म पहाडी जिल्लाको बसाइँसराइ नरोकिने बताएका छन् । 

उनले पहाडी जिल्लाबाट गुणस्तरीय शिक्षाका नाममा तराई तथा सहरी क्षेत्रमा बसाइँसराइ भएको भन्दै बसाइँसराइ रोक्नका लागि शिक्षाको गुणस्तर सुधार गर्नु अहिलेको मुख्य आवश्यकता रहेको बताए । 

अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा रहेको महेन्द्र विद्याबोध माध्यमिक विद्यालयको हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले भौतिक पूर्वाधार र सडक विस्तारले पूर्णता पाए पनि शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार गर्न स्थानीय, प्रदेश र सङ्घीय तीनै तहका सरकारले जोड दिनुपर्ने बताए । 

शिक्षा, स्वास्थ्यको सुधारसँगै कृषि र पशुपालनका माध्यमबाट स्वरोजगार सिर्जना गर्नुपर्ने उनले बताए । उद्योगधन्दा जिल्लामा नभएसम्म बेरोजगार समस्याको हल नहुने उल्लेख गर्दै उनले युवाको बढ्दो वैदेशिक पलायन रोक्नुपर्ने बताए । 

विद्यालयको हीरक महोत्सव समारोहमा विद्यालय स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने शिक्षाप्रेमी तथा अभिभावक, पूर्वशिक्षक, चन्दादातालाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  २१:३९
प्रतिक्रिया दिनुहोस्