सुडानमा एक साता युद्धविराम

बुधबार, वैशाख २०, २०८०

काठमाडौं–सुडानमा द्वन्द्वरत पक्षले एक हप्ता युद्धविराम गर्न सहमत भएका छन् । सरकारी सेना र प्रतिद्वन्द्वी अर्धसैनिक बल आरएसएफबीच बिहीबार मई ४ तारिखदेखि एक हप्तासम्म युद्ध विराम गर्ने सहमति जनाएका हुन् ।

यसबीचमा दुवै पक्षबीच शान्ति वार्ता हुनेछ । दक्षिण सुडानले दुवै पक्ष शान्ति वार्ताका लागि आ–आफ्ना प्रतिनिधि पठाउन तयार भएको जनाएको छ ।

यसअघि पनि युद्धविरामको सम्झौता भए पनि पालना भएको थिएन । दुवैले एकअर्कालाई सम्झौता तोडेको आरोप लगाएका थिए ।

सुडानमा सेना र अर्धसैनिक बलबीच १८ दिन अगाडिदेखि लडाइँ जारी छ । संयुक्त राष्ट्रसंघका अनुसार यस अवधिमा एक लाख भन्दा बढीले देश छाडिसकेका छन् । ५ सय भन्दा बढीको मृत्यु भइसकेको छ भने ४ हजार बढी घाइते भएका छन् ।

मंगलबार पनि राजधानी खार्तुम, पश्चिम क्षेत्र दारफुर लगायतका क्षेत्रमा लडाइँ जारी थियो ।

अधिकारीहरुले यदि लडाइँ जारी रहेमा सुडान ठूलो संकटमा पर्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्