प्रिमियर लिग :

सिटीलाई पछि पार्दै आर्सनल फेरि शीर्ष स्थानमा फर्कियो

बुधबार, वैशाख २०, २०८०

काठमाडौँ– साविक विजेता म्यानचेस्टर सिटीलाई पछि पार्दै आर्सनल फेरि इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा फर्किएको छ ।

गएराति घरेलु मैदानमा चेल्सीमाथि ३–१ को जित निकाल्दै आर्सनल शीर्ष स्थानमा फर्किएको हो ।

आर्सनल पछिल्लो चार खेलमा जितविहीन थियो । आर्सनलले गत साता सिटीलाई नतिजा सुम्पिएसँगै शीर्ष स्थान गुमाएको थियो । 

यसले गर्दा दोस्रो स्थानको सिटीले उसलाई उछिन्दै शीर्ष स्थान कब्जा गरेको थियो । एकसाता नबित्दै आर्सनल फेरि शीर्ष स्थानमा फर्किएको हो । 

आर्सनलको जितमा कप्तान मार्टिन ओडीगार्डको दुई गोल गरे भने ग्याब्रियल जिससको नाममा एक गोल रह्यो । नोनी माडुकीले चेल्सीका लागि सान्त्वना गोल फर्काए ।

३४ खेलमा ७८ अंक जोडेको आर्सनल शीर्ष स्थानमा फर्किएको हो । यो दोस्रो स्थानको सिटीभन्दा मात्र २ अंक बढी हो । 

यद्यपि, सिटीले आर्सनलको भन्दा दुई खेल कम खेलेको छ । आज हुने खेलमा सिटीले वेस्टह्यामलाई हराएमा आर्सनल दोस्रो फेरि स्थानमा झर्नेछ ।

पछिल्लो समय लयमा नदेखिएको चेल्सी भने ३३ खेलमा ३९ अंकसहित १२औं स्थानमा छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  ०९:१०
प्रतिक्रिया दिनुहोस्