राजनीति

चारतिर फर्किएका दलले सरकार बनाउँदा विकास र सुशासन भएन : ओली

मंगलबार, वैशाख १९, २०८०

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश असाध्यै अप्ठ्यारो र असहज स्थितिमा भएको टिप्पणी गरेका छन् ।  

अध्यक्ष ओलीले कसैको बहुमत नआउँदा चारतिर फर्किएका दलहरू मिलेर सरकार चलाउनु परेको बताए ।

एमालेले आयोजना गरेको ‘मिसन ग्रासरुट’ अभियानको समीक्षा कार्यक्रममा बोल्दै ओलीले देशमा राजनीतिक स्थिरताको स्थिति नरहेको टिप्पणी गरे ।

‘देश असाध्यै अप्ठ्यारो  र असहज स्थितिमा छ । सहज रूपमा कसैको बहुमत नआउने स्थिति भएपछि नीति नभएका चारतिर फर्किएका तत्वहरू मिलेर सरकार बनाउनुपर्ने अवस्था छ । त्यसो भए पनि देश नीतिविहीनतामा जाने भयो’, ओलीले भने । 

चारतिर फर्किएका दलले सरकार बनाउँदा विकास र सुशासन हुन नसकेको उनको भनाइ छ । यदि एउटा पार्टीको बहुमत हुने भए यो नीतिका साथ काम गर्छु भन्ने स्थिति हुने ओलीले बताए । 

देशको अर्थतन्त्र ओरालो लागेको र सुधारमा ध्यान नदिने हो भने अबको एक डेढ वर्षमा नेपाल असफल राष्ट्र बन्ने खतरा रहेको पनि उनले चेतावनी दिए ।

यहाँ यत्तिकै हाहा हुँहूँ गरेर कुद्नेहरु, चार वटा ढुङ्गा हानेर कुद्नेहरु, तिनलाई देशको के मतलब ?’ तिनका समर्थनमा स्टाटस र वक्तव्य दिनेहरूलाई देश बर्बादीमा गएकोमा कुनै मतलब नभएपनि एमालेलाई चिन्ता लागेको ओलीले बताए । 

‘एमालेको कार्यकालमा दिनमा ६ लेनका बाटा ६ किलोमिटरका दरले बन्थे’, ओलीले दाबी गर्दै भने ‘आफ्नो कार्यकालमा पुनर्निर्माणका असीमित कामहरु भयो ।’

विकासको काम त्यसरी भएकाले नै धेरैले रोजगारी पाउनुका साथै अर्थतन्त्र चलायमान भएपनि अहिले ठप्पप्रायः रहेको उनल जिकिर गरे । 

ओलीले महालेखा परीक्षकको कार्यालयले एमालेलाई बदनाम गर्न लागेको आोरोप लगाए । उनले महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा झापाको दमकमा बनाएको भ्यु टावर किन बनाएको भनेर लेखेको भन्दै आपत्ति समेत जनाए । 

अध्यक्ष ओलीले भने, ‘महालेखा परीक्षकको प्रतिवेदन हेर्दा म छक्क परेँ, हिसाबकिताव होइन, दमकमा एउटा विशाल विजनेश कम्प्लेक्स बनाइएको छ । साढे ७ रोपनी जमिनमा १८ तला भवन बनेको छ ।’

त्यसमा अनेकन व्यापार विजनेश गर्न सकिने भएपनि त्यसलाई महालेखाले किन बनाएको भन्दै उनले प्रश्न गरे ।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १४:४९
प्रतिक्रिया दिनुहोस्