राष्ट्रिय लेखा अनुमान

यस वर्ष आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतमा खुम्चिने प्रक्षेपण

मंगलबार, वैशाख १९, २०८०

काठमाडौं –चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत मात्र हुने अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०७९/८० को वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै केन्द्रीय तथ्याङ्क कार्यालयले चालू आर्थिक वर्षको अन्तसम्ममा उपभोक्तातर्फको आर्थिक वृद्धिदर १ दशमलव ८६ प्रतिशत र समष्टिगत आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत रहने प्रक्षेपण गरेको हो ।

योसँगै आर्थिक वर्षको अन्तसम्ममा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ५३ खर्ब ८१ अर्ब पुग्ने तथ्याङ्क कार्यालयको भनाइ छ । यसअघि यस्तो जीडीपीको आकार ४८ खर्ब हाराहारी रहेको थियो ।

सरकारले चालु आर्थिक वर्षका बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको थियो । तर, आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो ।

आर्थिक वृद्धिको यो अनुमान एसियाली विकास बैंक र विश्व बैंकले गरेको अनुमान भन्दा कम हो ।

यसअघि एसियाली विकास बैंक र विश्व बैंकले सन् २०२२/२३ का लागि नेपालको आर्थिक वृद्धिदर ४दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेका थिए ।

कोभिड–१९ का कारण आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव ४ प्रतिशतले ऋणात्मक भएको थियो । आर्थिक वर्ष २०७७/७८ मा ४ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल भएकोमा गत आर्थिक वर्ष २०७८/७९ मा ५ दशमलव ३ प्रतिशत आर्थिक वृद्धिदर भएको केन्द्रीय तथ्यांक कार्यालयको तथ्यांक छ ।

growth-0252023095354-1000x01683017323.jpg

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १४:३२
प्रतिक्रिया दिनुहोस्