एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको फाइनल खेल सुचारु भएन

सोमबार, वैशाख १८, २०८०

काठमाडौं–लगातारको वर्षाले एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल वर्षाले अवरुद्ध भएको छ । पहिलो इनिङको २७ दशमलव ३ ओभर खेलेपछि खेल वर्षाको कारण अवरुद्ध भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरिरहेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको हो ।

वर्षा नरोकिएपछि खेल पुनः सुचारु हुन सकेको छैन । सोमबारको खेल पुरा हुन नसकेपछि के हुने भन्ने चासोको विषय बनेको छ ।  

क्रिकेटको नियम अनुसार खेल अवरुद्ध भएमा र सुपर ओभर पनि खेल्ने अवस्था नरहेमा रिजर्भ डे अर्थात मंगलबारसम्मको लागि खेल स्थगित हुने छ । मंगलबार पुनः सोमबारकै अवस्थाबाट खेल सुरु हुने छ । अर्थात्, २७ दशमलव ३ ओभरबाट खेल सुरु हुनेछ । बलिङमा ललित राजवंशी आउने छन् भने ब्याटिङमा यूएईका अन्तिम जोडी कार्तिक मियाप्पन र जुनैद सिद्दकी क्रिजमा आउने छन् ।

मंगलबारको खेल पनि वर्षाले अवरूद्ध भए ओभर घटाइनेछ । ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर हुनेछ । सुपर ओभर पनि सम्भव नभएमा वरीयताको आधारमा च्याम्पियनको टुंगो लाग्नेछ । नेपाल ओडिआई वरियातामा १४ औं र युएई १९ औं स्थानमा छन् । यसलाई आधार मान्दा नेपाल स्वतः प्रतियोगिताको च्याम्पियन बन्दै एसिया कपमा छनोट हुनेछ ।

एसिया कपमा भारत र पाकिस्तान सम्मिलित समूहमा प्रतिस्पर्धा गर्नेछ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्