टिप्पणी :

सत्तामा नभएको बेलामा पनि ओलीलाई लखेट्ने को हुन् ?

सोमबार, वैशाख १८, २०८०

काठमाडौँ– केही दिनयता नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पहिचानवादीको नाममा आन्दोलन गर्नेहरूले आफूमाथि आक्रमण गरिरहेको बताइरहेका छन् । 

ओलीलाई कोसी प्रदेशका झापा, पाँचथर, तेह्रथुम, इलाम जिल्लामा पहिचानवादीले लखेटेका छन् । र, ओली सवार गाडीमा भौतिक आक्रमणको प्रयास पनि भएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीमाथिको यस्तो आक्रमणप्रति एमालेले संसदमै प्रश्न उठाएको छ । एमालेका नेता गोकुल बाँस्कोटाले केही दिनअघि प्रतिनिधिसभामा बोल्दै अध्यक्ष ओलीमाथि ज्यानमार्ने षडयन्त्र भएको शंकासमेत गरेका थिए । यस्तै, एमाले उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव विष्णु रिमाल तथा सचिव योगेश भट्टराईले पनि अध्यक्ष ओलीमाथि गम्भीर षडयन्त्र भएको अभिव्यक्ति दिइरहेका छन् ।

एमालेको गढ मानिने पूर्व पहाडी जिल्लाहरूमा आफ्ना अध्यक्ष नै लेखेटिने घटना एमालेका लागि मात्रै होइन, राजनीतिक विश्लेषकहरूका लागि पनि अनौठो घटना हो । सरकारमा एमाले समावेश छैन । अहिले एमाले प्रमुख प्रतिपक्षी पार्टी हो । विपक्षी दलको नेता आन्दोलनको तारो बन्ने अवस्था सितिमिति आउँदैन । अहिले पहिचानवादीको प्रमुख निसानामा विपक्षी दलका नेता ओली नै परेका छन् ।

तत्कालीन प्रदेश १ लाई ‘कोसी प्रदेश’ नामाकरण गर्ने निर्णयविरुद्धको आन्दोलनमा सहभागी भएका पहिचानवादीहरूको निशानामा एमाले अध्यक्ष ओली पर्नुको कारण छ । किनभने, प्रदेश १ को नाम कोसी राख्ने निर्णयको मुख्य निर्णायक दल एमाले नै हो । एमालेकै नेता हिक्मत कार्की त्यहाँका मुख्यमन्त्री छन् । ओलीको गृहजिल्ला झापा हो भने मुख्यमन्त्री कार्की पनि झापाका नै हुन् । कार्कीलाई ओलीले नै मुख्यमन्त्री बनाएका हुन् । त्यसैले एमाले अध्यक्ष ओली आन्दोलनकारीको मुख्य निशानामा परेका हुन् ।

ओलीमाथिको आक्रमणलाई सरकारले पनि गम्भीरतापूर्वक नलिएको आरोप एमालेको छ । ओलीमाथि आक्रमण हुँदा माओवादी केन्द्र र कांग्रेस रमिते मात्रै बनेको एमालेको दाबी छ ।

एमालेको आरोप सही हो भने सरकारले गल्ती गरेको छ । किनभने, पूर्वको पहाडी जिल्लाबाट एमाले अध्यक्ष ओलीलाई लखेट्न सक्ने शक्तिले कांग्रेस, माओवादी जस्ता अन्य शक्तिलाई सजिलै लखेट्न सक्छ । ओलीको जन्मथलो तेह्रथुम र गृहजिल्ला झापामा ओली लखेट्ने शक्तिलाई अन्य पार्टीले कम आँक्ने गल्ती नगर्नु नै उनीहरूको पनि हितमा छ ।

को हुन् ओलीलाई लखेट्ने ?

एमाले अध्यक्ष ओलीको भनाइलाई आधार मान्ने हो भने उनीमाथि आक्रमण गर्ने पहिचानवादीहरू राजावादी पनि हुन् । अर्थात, पहिचानवादीको आन्दोलनमा राजावादी सहभागी भएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवारले नै पहिचानवादीको आन्दोलनमा घुषपैठ गराएको ओलीको दाबी छ ।

अध्यक्ष ओलीको दाबीमा केही सत्यता पनि भेटिएको छ । पञ्चायतकालमा गृहमन्त्री बनेका पाँचथरको यासोकका पद्मसुन्दर लावतीका छोरा डा. महेन्द्र लावती पनि पहिचानवादीको आन्दोलनमा सहभागी छन् । पूर्वपञ्चका सन्तान तथा राजावादी भनेर चिनिएकाहरू पनि अहिले पहिचानको आन्दोलनमा सहभागी भएकोले ओलीले गरेको दाबी पूर्णतः गलत हो भन्न सकिने अवस्था छैन । पूर्वपञ्चकै छत्रछायाँका हुर्किका कुमार लिङ्देन पनि पहिचानको आन्दोलनमा सक्रिय छन् । 

तेह्रथुममा जन्मिएर झापामा हुर्किएका तथा पूर्वी पहाडी जिल्लाहरूमा नै पञ्चायतविरुद्ध संगठन बनाउँदै हिडेका एमाले अध्यक्ष ओलीलाई अहिलेको आन्दोलनमा कस्ता मान्छेहरू सहभागी छन् भन्ने जानकारी नहुने कुरै भएन । त्यसमा पनि एमालेजस्तो देशभर सबैभन्दा धेरै संगठित सदस्य भएको पार्टीका शक्तिशाली अध्यक्षलाई सो आन्दोलनमा संलग्नहरूबारे रिपोर्टिङ नहुने भन्ने कुरै हुँदैन ।

ओली बढी आक्रामक हुँदाको परिणाम

एमाले अध्यक्ष ओली पछिल्ला दिनहरूमा पूर्वराजा ज्ञानेन्द्र र उनको परिवारप्रति आक्रामक रुपमा प्रस्तुत भइरहेका छन् । यति मात्रै होइन, यो सातादेखि त ओलीले राजावादीमाथि पनि आक्रमण साँधेका छन् । आइतबार पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा ओलीले स्वाथी, दलाल र मुर्खहरू मात्रै राजावादी हुने प्रतिक्रिया दिएका छन् ।

पहिचानवादीप्रतिको ओलीको धारणा र राजावादीप्रतिको टिप्पणीले ओलीले एकैपटक धेरैतिरको निशानालाई निम्ता दिएका छन् । अहिलेको सत्ता गठबन्धनका माओवादी केन्द्र, नेकपा (एस), कांग्रेसजस्ता पार्टीहरूप्रति उनको तिक्तता कायमै छ ।

ओलीको विगत

तत्कालीन नेकपा (माओवादी)ले २०५२ साल फागुन १ गतेदेखि ‘जनयुद्ध’ सुरु गर्यो । सो सशस्त्र विद्रोहको सबैभन्दा कडा आलोचकमध्य एक ओली पनि थिए । 

माओवादीले सशस्त्र विद्रोह छाडेर शान्ति प्रक्रियामा आएपछि पनि ओली उनीहरूप्रति सकारात्मक थिएनन् । माओवादीका हरेक क्रियाकलापको चर्काे आलोचना गर्नेमा ओली नै अग्रस्थानमा थिए ।

ओलीले जनमतबाट ठूलो पार्टी बन्दासमेत माओवादीलाई सोको मान्यता दिन अस्वीकार गरेका थिए । २०६४ सालको पहिलो संविधानसभामा माओवादी सबैभन्दा ठूलो दल बनेको थियो । सो संविधानसभाले संविधान बनाउन सकेन । पहिलो संविधानसभाबाट संविधान बन्न नसक्ने परिस्थिति सिर्जना हुँदै गर्दा ओलीले सार्वजनिक रुपमै भनेका थिए– नेपाली जनताले माओवादीलाई ठूलो पार्टी बनाएर गल्ती गरेका छन्, जनताले यो गल्ती नसच्याइ संविधानसभाबाट संविधान बन्दैन ।

माओवादीप्रति ओलीको आलोचना २०७४ सालसम्म नै कायम रह्यो । तर, २०७४ को आम निर्वाचनमा माओवादी र एमालेले पार्टी नै एकीकरण गर्ने गरी चुनावी गठबन्धन गरे । र, यसको मुख्य सुत्रधार ओली नै थिए । एमाले र माओवादीबीच पनि पार्टी एकीकरण नै भयो । भलै, सो एकीकरण ३ वर्ष पनि टिकेन । 

यस्तै, तराई–मधेसमा चलेको पहिचानको आन्दोलनप्रति पनि ओली कडा आलोचकका रुपमा प्रस्तुत भएका थिए । ‘एक मधेस, एक प्रदेश’को माग गर्नेप्रति लक्षित गर्दै ओलीले भनेका थिए– सम्म जति सबै मधेस हुनुपर्ने ? कसैको आँगन पनि मधेस नै हुनुपर्ने !

तर, २०७४ सालको आम निर्वाचनमा एमालेको समर्थनमा राजेन्द्र महतो लगायतका मधेसवादी नेताहरू निर्वाचित भएका थिए । यस्तै, गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा पनि मधेसवादीको पहिचान बनाएको पार्टी जनता समाजवादी र एमालेबीच चुनावी तालमेल भएको थियो । यद्यपि, एमालेको समर्थन भए पनि जसपा अध्यक्ष उपेन्द्र यादव २०७९ को आम निर्वाचनमा पराजित भएका थिए ।

अहिले ओली राजावादी र पूर्वराजाप्रति कडा रुपमा प्रस्तुत भएका छन् । ओलीको विगतअनुसार नै भयो भने उनी र राजावादीबीच निकट भविष्यमा नै सहकार्यको सम्भावना देखिन्छ । किनभने, ओलीले जस–जसको बढी आलोचना गरेका थिए, निकट भविष्यमा उनीहरूसँग नै उनको सहकार्य भएको थियो ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १४:३१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार