स्वदेश फर्किए चन्द्र भण्डारी, भने– आगोमा कुनै नेपालीले जल्नु नपरोस्

आइतबार, वैशाख १७, २०८०

काठमाडौँ– नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी झन्डै तीन महिनाको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका छन् ।

भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचार सकेर उनी आज साँझ स्वदेश फर्किएका हुन् । स्वास्थ्यमा सुधार हुँदै गएपछि उनी स्वदेशमै बसेर उपचार गर्नेगरी फर्किएका हुन् ।

उपचार सकेर नेपाल फर्किएपछि डा. भण्डारीले आगलागीबाट हुने मृत्युदर कम गर्न काम गर्ने संकल्प व्यक्त गरेका छन् । उनले कुनैपनि नेपालीले आगलागीबाट मर्नु नपरोस् भन्ने पहिलो अभियान आफ्नो हुने बताएका हुन् ।

‘‘जुन दिन अब म बाँँच्छुजस्तो लाग्यो, नेपालमा आगलागीबाट हुने घटनाहरू कम गर्न तथा आगलागीबाट हुने मृत्युदर कम गर्न पैरवी गर्छु, काम गर्छु भन्ने संकल्प गरेँ । त्यसैले मेरो अभियान हुनेछ, ‘कुनै नेपालीले आगोमा जल्नु नपरोस्, आगलागीमा परेको कुनै पनि नेपालीले मर्नु नपरोस्’, उनले भनेका छन् ।

संघीय सांसदका रूपमा आवश्यक नीतिगत सुधार तथा कानुनी व्यवस्थाका लागि काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् । साथै, उनले अहिले बजेट निर्माणका लागि छलफल चलिरहेकाले नेपाल सरकारलाई  पूर्वाधारसहितको सातवटै प्रदेशमा कमसेकम एक–एकवटा बर्नस् अस्पताल बनाउन  आवश्यक बजेटको व्यवस्था गर्न आग्रह पनि गरेका छन् ।

पत्रकारहरुमाझ नेता भण्डारीले आफू थप उपचारको लागि भारत गएकै दिन नेपाल सरकारले अर्को बर्न अस्पताल बनाउने निर्णय गरेकोमा खुशी समेत व्यक्त गरे। 

आफूलाई बाँच्नका लागि साथ र सहयोग गरेकोमा नेपाल सरकार, विभिन्न राजनीतिक दलका नेताहरु, सहकर्मीहरु सबैप्रति उनले आभार र धन्यवाद व्यक्त गरे ।

उनी गत फागुन ३ गते खाना पकाउने ग्यास लिक भएर आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो। उनलाई भने थप उपचारका लागि भारत लगिएको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  २१:१८
प्रतिक्रिया दिनुहोस्