पहिचानवादीको आन्दोलनमा पूर्वराजा संलग्न भए : ओली

आइतबार, वैशाख १७, २०८०

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय पहिचानको नाममा भएको आन्दोलनमा पूर्वराजा ज्ञानेन्द्र शाहको पनि संलग्नता रहेको आरोप लगाएका छन् । आइतबार अखिल नेपाल किसान महासंघको ७३औं स्थापना दिवसको अवसरमा तुलसीलाल प्रतिष्ठान, च्यासलमा आयोजित कार्यक्रममा बोल्दै ओलीले यस्तो आरोप लगाएका हुन् ।

ओलीले आफूमाथिको आक्रमणमा पूर्वराजा शाहका परिवार र सत्तारूढ दलका कार्यकर्ताको संलग्नता रहेको पनि दाबी गरे ।

आफू झापा, इलाम, तेह्रथुम र पाँचथरका कार्यक्रममा जाँदा भएको ढुंगामुढामा उनीहरूको संलग्नता रहेको ओलीले जिकिर गरे ।

‘कार्यक्रममा जाँदै गर्दा केही गुन्डा प्रवृत्ति, अराजनीतिक व्यक्तिले हमला गर्ने, पहिचानको राजनीतिक गर्ने भनेर अराजनीतिक क्रियाकलाप गर्ने, ढुंगामुढा गरे । यसको संलग्नता विभिन्नतिर देखिएको छ । ज्ञानेन्द्र शाह उनको परिवारको देखिएको छ’। ओलीले दाबी गरे ।

पूर्वदरबारियाहरूले छौँडा खेलाएर पनि यस्तो खालको काम गरेका उल्लेख गर्दै उनले अहिले सत्तामा हुने पार्टीका कार्यकर्ता अर्काको नाममा ढुंगा हान्न तयार भएको बताए ।

आफ्नाविरुद्ध हरेक ठाउँमा रुख ढाल्ने, ढुंगा हानेर बाटो छेक्ने उदण्डता प्रस्तुत गरिएको पनि ओलीको आरोप छ । 

गठबन्धनको सरकार असामाजिक क्रियाकलाप गर्ने÷गराउनेमा संलग्न रहेको दाबी गर्दै उनले भने, ‘२०÷२५ केटालाई च्यापच्याप समाउन सकिन्न ? त्यही मान्छे झापामा ढुंगा हान्छ, तीनै मान्छे इलाममा उफ्रिन्छ ।’

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १६:४३
प्रतिक्रिया दिनुहोस्