रवि लामिछानेले भने– मन्त्रालय १३ वटा बनाऔं, सरकार रास्वपाले मात्रै चलाउँछ

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले एक्ले सरकार चलाउने चाहना राखेको बताएका छन् ।

वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन २ बाट निर्वाचित भएका लामिछानेले शपथग्रहणपछि संचारकर्मीसँग यस्तो बताएका हुन् । अहिलेको सरकारलाई दिएको समर्थन कायम राख्ने कि नराख्ने, सरकारमा जाने कि नजाने भन्ने जस्ता प्रश्नको जवाफमा उनले आफ्नो पार्टीले एक्लै सरकार चलाउने चाहना राखेको बताएका हुन् ।

‘स्वभाकि रुपमा हामीले सोचे जस्तो, हामीले आफैले गर्न सक्ने जस्तो वातावरण बन्यो भने बेग्लै कुरा होला । जस्तो कि उदाहरणको लागि हामीले एकचोटी भनेका पनि थियौं– सबै जनालाई भाग लगाएर मन्त्रिमण्डल बनाउनु भन्दा १३ वटाको मन्त्रिमण्डल बनाऔं, रास्वपाले मात्रै सरकार बनाओस, अरुले समर्थन मात्रै गरुन्,’ सभापति लामिछानेले भने ।

उनले आफ्नो पार्टीले कसैप्रति बढी झुकाव नराखेको पनि बताए । राजनीतिक मुद्दाका आधारमा अन्य दलहरुसँग नजिक हुन सकिने उनको भनाइ छ ।

‘हामी कोही कसैसँग टासिने भन्ने होइन । सद्भाव सबैप्रति छ । एजेण्डाका आधारमा सहकार्य सबैसँग हुन सक्ला । तर, कुनै राजनीतिक दलप्रति हाम्रो अलि बढी झुकाव होला भन्ने छैन,’ उनले भने ।

लामिछानेको पार्टी रास्वपाले २७५ सदस्य रहेको प्रतिनिधिसभामा २१ सिट जितेको छ । उनको पार्टीले वर्तमान सरकारलाई समर्थन गरिरहेको छ । 

उनले आफ्नो पार्टीको मुल विषय नै सुशासन भएको बताए । र, आम सर्वसाधारणले पनि भ्रष्टाचार नियन्त्रणको लागि आफ्नो पार्टीलाई भोट दिएको उनको विश्लेषण छ ।

‘हामीले आम नागरिकसँग भोट मागिरहँदा हाम्रो सबैभन्दा महत्वपूर्ण विषय र हामीलाई सबैभन्दा बढी आम नागरिकले भोट दिएको हामीलाई लागेको विषय भनेको मुलुकको भ्रष्टाचारको अन्त्यको विषय हो । जसमा हामीले कुनैपनि कालखण्डमा भएका भ्रष्टाचारको छानविन हुनुपर्छ भनेका थियौँ,’ लामिछानेले भने ।

उनले भ्रष्टाचार नियन्त्रणमा वर्तमान सरकार गम्भीर नभएकोले यो सरकारलाई दिएको समर्थन जारी राख्नुपर्ने चौचित्य कम हुँदै गएको उनको भनाइ छ ।

कुनैपनि कालखण्डमा भएका भ्रष्टाचारको छानविन हुनुपर्छ भनेका थियौँ । त्यो नै न्युनतम साझा कार्यक्रमबाट सरकारले हटायो । त्यसमा हाम्रो गम्भीर भन्दापनि गम्भीर आपत्ति छ । किनभने मतदाताले हामीलाई केही थान मान्छेलाई संसदमा पठाएको होइन । निश्चित एजेण्डासहित एउटा म्याण्डेड दिएर पठाएको हो । जुन वाचा गरेर हामी आएका थियौँ अझ निर्मम हुनुपर्ने कुरालाई भएको पनि हटाएको कुरामा हाम्रो गम्भिर आपत्ति छ । यसमा गम्भिर समीक्षा गरेर मात्रै अगाडी बढ्छौँ,’ सभापति लामिछानेले भने ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १३:५२
प्रतिक्रिया दिनुहोस्