मापन केन्द्रले भन्यो– दुई होइन तीन पटक गयो बाजुरामा भूकम्प

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौँ– बाजुरा जिल्लाको दहकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको दहकोट केन्द्रविन्दु भएर गए राति छुट्टाछुट्टै समयमा तीन पटक भूकम्प गएको हो ।

केन्द्रका अनुसार राति ११ बजेर ५८ मिनेट जाँदा चार दशमलव नौ, राति १ बजेर ३० मिनेट जाँदा पाँच दशमलव नौ र राती १ बजेर ५१ मिनेट जाँदा तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो । 

भूकम्पको क्षतिबारे भने अहिलेसम्म यकिन हुन नसकेको बताइएको छ । 

यसअघि दुई पटक भूकम्प गएको बताइएको थियो । त्यसलाई सच्याउँदै केन्द्रले तीन पटक भूकम्प गएको स्पष्ट पारेको छ ।

यसअघि गत वैशाख ४ गते बाजुराकै जुगाडा केन्द्रविन्दु भएर तीन दशमलव छ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । 

नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  ०७:४५
प्रतिक्रिया दिनुहोस्