नेपालमा संसदीय व्यवस्था असफल भयो : विप्लव

शनिबार, वैशाख ९, २०८०

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान राज्य व्यवस्था असफल भइसकेको टिप्पणी गरेका छन् । नेपाली जनतालाई धेरै निराश र लज्जित बनाउने काम गरेकाले वर्तमान संसदीय व्यवस्था असफल भइसकेको जिकिर उनले गरे ।

नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले देशलाई स्वाधीन र नागरिकलाई मालिक बनाउनका लागि वैज्ञानिक समाजवादको विकल्प नभएको बताए । त्यसका लागि बहसमा जुट्न उनले अरू कम्युनिस्ट पार्टीलाई आग्रह पनि गरे ।

जनताको शासनसत्ता ल्याउनका लागि आफ्नो पार्टीले अरू कम्युनिस्ट पार्टीसँग खुला बहस गर्न चाहेको उनले बताए ।

‘आजको संसदीय व्यवस्था असफल भयो । सफल छैन । नेपाली जनतालाई यति धेरै निराश, यति धेरै लज्जित यो व्यवस्थाले बनाईराखेको छ,’ महासचिव चन्दले भने, ‘त्यसैले हामीले यो बाट अगाडि बढाउनका लागि नयाँ आधारमा बहस खोजौं । छलफल गरौं । हाम्रो यो दृष्टिकोण हो । जनतालाई स्वाधिन बनाउन छ भने जनताको सत्ता बाहेक अरुबाट सम्भव छैन ।’

जनताको शासन सत्ता ल्याउनका लागि आफ्नो पार्टीले अन्य कम्युनिष्ट पार्टीहरुसँग खुला बहस गर्न चाहेको महासचिव विप्लवले बताए । 

महासचिव विप्लवले नेपालमा बैदेशिक रोजगारी भित्र्याएर नेपाली जनतालाई पराधिन बनाउने कामको सूरुवात काँग्रेसले गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १९:५४
प्रतिक्रिया दिनुहोस्