गण्डकीमा ढल्यो एमालेको सरकार, मुख्यमन्त्री अधिकारी पदमुक्त

शनिबार, वैशाख ९, २०८०

पोखरा –माओवादी केन्द्रले साथ नदिएपछि गण्डकी प्रदेशमा एमालेको सरकार ढलेको छ । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत नपाउँदा एमालेको सरकार बढेको हो । यससँग मुख्यमन्त्री अधिकारी पनि पदमुक्त भएका छन् । यससँगै विश्वासको मतसम्बन्धी मुख्यमन्त्रीको प्रस्ताव अस्वीकृत भएको सभामुखले घोषणा गरे ।

प्रदेशसभामा अधिकारीले विश्वासको मत माग्दा ६० प्रदेशसभा सदस्यमा उनको पक्षमा २४ जना मात्र रहे ।

विश्वासको मत पाउन कम्तीमा ३१ सांसदको समर्थन जुटाउनुपर्नेमा अधिकारीले एमाले र राप्रपाका सांसदको गरी २४ मत पाए ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक बाध्यताका कारण अधिकारीले शनिबार प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । 

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका सांसदको समर्थनमा २५ पुसमा मुख्यमन्त्री बनेका अधिकारी करिब साढे ३ महिना पदमा रहे । तर, केन्द्रमा एमालेसहितको गठबन्धन परिवर्तन भएपछि गण्डकीमा समेत गठबन्धन परिवर्तन भएको थियो ।

मुख्यमन्त्री अधिकारीको विश्वासको मतको विपक्षमा ३५ मत खसेको छ । नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ७ र हालै नेकपा एकीकृत प्रवेश गरेका राजीव गुरुङ अर्थात दिपक मनाङेले अधिकारीलाई मत दिएनन् ।


 

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १८:५७
प्रतिक्रिया दिनुहोस्