गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउने सम्भावना कति ?

शनिबार, वैशाख ९, २०८०

काठमाडौँ– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन् ।

आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा नेकपा (एमाले)बाट मुख्यमन्त्री बनेका अधिकारीले विश्वासको मत लिन लागेको सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए । 

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले गत चैत १० गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएपछि वर्तमान सरकार अल्पमतमा परेको थियो । समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

६० सदस्यीय प्रदेशसभाको विश्वास लिन मुख्यमन्त्रीलाई ३१ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । 

गत पुस २५ मा आफ्नो पार्टी एमालेसहित माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा अधिकारी गण्डकीको तेस्रो मुख्यमन्त्री बनेका थिए ।

गण्डकी प्रदेशमा ६० सदस्यीय प्रदेशसभा छ । सरकार टिकाइराख्नका लागि मुख्यमन्त्री अधिकारीले ३१ सांसदको समर्थन जुटाउनुपर्छ । एमालेका २२ र राप्रपाका दुई गरी २४ सांसद मात्र छन् ।

यसर्थ, उनले विश्वासको मत नपाउने निश्चित छ । 

सभामुखबाहेक २७ सदस्य रहेको नेपाली कांग्रेस र ७ सदस्यीय माओवादी केन्द्र मिल्दा सरकार नै बनाउन सहज बहुमत पुग्छ । नेकपा (एकीकृत समाजवादी र दीपक मनाङ्गेले पनि समर्थन गर्ने निश्चित छ । 

मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता हरिबहादुर चुमानले दाबी गरे पनि कांग्रेसका सुरेन्द्र पाण्डेको सम्भावना बढी छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  ०८:०८
प्रतिक्रिया दिनुहोस्