Nic Ad Nic Ad
Nic Ad Nic Ad

रविको दाबी– अबको ४ वर्षपछि रास्वपाले बहुमतको सरकार बनाउँछ

'म चितवनले रोपेको बिरुवा हुँ, मल हाल्ने जिम्मा तपाईँको'
शुक्रबार, वैशाख ८, २०८०

भरतपुर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेले आफू चितवनवासीले हुर्काएको बिरुवा भएको बताएका छन् । चितवनको भरतपुरमा बिहीबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै लामिछानेले गत निर्वाचनमा रोपेको बिरुवालाई मलजल दिन आग्रह गरे । 

उनले भने, गत निर्वाचनमा तपाईंहरूले रोपेको बिरुवा हुँ म । त्यो बिरुवालाई हुर्काउन मल चाहिन्छ । सम्पूर्ण गालीहरूलाई सङ्कलन गरेर मल बनाएका छौँ । हामीले त्यसलाई प्रयोग गर्नेछौँ । यसपटक मल त हालिसकेका छौँ । अब जल हाल्ने जिम्मेवारी तपाइँहरूको हो ।’

उनले अब चितवनले एक व्यक्तिलाई मात्रै नभएर देशलाई न्याय गर्ने बताए । उनले देशलाई परिवर्तनको जबर्जस्ती आवाज चाहिएको बताए । लामिछानेले भने, ‘यो साथको निरन्तरता चाहिएको छ । तपाईंलाई झुक्याउन जरुरी छैन । आँधीहुरी जे आए पनि नडराउनुहोला । न्यायका लागि आवाज उठाउनुभयो, न्याय चाहिन्छ भने आजको दिनमा चितवन जानुहोस् भन्ने मान्यता स्थापित भएको छ ।’ 

उनले अबको चार वर्षपछि २०८४ मा हुने आमनिर्वाचनमा देशभरबाट रास्वपाले बहुमतको सरकार बनाउने दाबी गरे । 

कार्यक्रममा तनहुँबाट रास्वपाको उम्मेदवार बनेका डा स्वर्णिम वाग्लेले देशका विकृति र विसङ्गतिको विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी शान्तिपूर्ण विद्रोहमा उत्रिएको बताए ।

सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय उपसभापति डिपी अर्याल, प्रवक्ता मुकुल ढकाल, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सांसदहरू तोसिमा कार्की, हरि ढकाल, सबिता गौतमलगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  ०६:३८
प्रतिक्रिया दिनुहोस्