व्यवसायी भन्छन्– काठमाडौँ उपत्यकाका ४० प्रतिशत सटरहरु खाली भए 

बिहीबार, वैशाख ७, २०८०

काठमाडौँ– अर्थतन्त्रमा देखिएको समस्याले व्यावसायिक मन्दी हुँदा सहरी क्षेत्रमा व्यापारिक प्रयोजनमा प्रयोग भइरहेका ४० प्रतिशत सटरहरु खाली भएका छन् ।

पछिल्लो समय आर्थिक संकट तथा बैंकको ब्याजदर उच्च रुपमा वृद्धि हुँदा व्यवसाय चलाउन नसक्दा व्यवसायीहरु पलायन हुने क्रम बढेसँगै सहरी क्षेत्रमा व्यवसायिक सटर तथा गोदामहरु धमाधम खाली हुन थालेका हुन् ।

footpath ktm (11)1676870182.jpg

बजारमा देखिएको बैंकिङ तरलता अभावको कारण व्यापार व्यवसाय उत्साहजनक छैन । उनीहरुले मुख्य सहरी क्षेत्रसँगै भित्री बस्तीमा सञ्चालन भएका सटर तथा पसल बन्द भएको बताए । व्यवसायीहरुले आर्थिक गतिविधि नियमित नहुँदा व्यापार व्यवसाय चल्न छोडे पनि सरकारले व्यवसायीहरुको माग सम्बोधन गर्न सक्दा व्यवसायीहरुले पसल नै बन्द गरेर बस्न बाध्य भएको व्यवसायीको भनाइ छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका पूर्वअध्यक्ष नरेश कटुवालले पछिल्लोे समय आर्थिक गतिविधि सुस्त हुँदा व्यापार व्यवसायबाट पलायन हुनेको सख्या दिनप्रतिदिन बढ्दै गएको बताए । घरधनीको भाडा वृद्धि, बैंकको उच्च ब्याजदर, ऋणको किस्ता तिर्न नसक्दा ३५ देखि ४० प्रतिशत व्यवसायीक सटरहरु खाली भएको उनको दाबी छ ।

व्यापार राम्रोसँग नहुँदा बालबच्चा पढाउन नसक्ने अवस्थामा पुगेपछि धेरै जना व्यवसाय छोडेर वैदेशिक रोजगारीमा गएकाले पनि सटरहरु खाली हुने अवस्था आएको भन्दै पूर्व अध्यक्ष कटुवालले खाद्य किरानासँगै अत्यावश्यक व्यवसाय चलेपनि अन्य व्यवसायमा कारोबार न्युन रहेकोले अहिलेको समस्या समाधान गर्न आवश्यक रहेको बताए । उनले घर भाडा घट्नेभन्दा पनि प्रत्येक वर्ष १० प्रतिशतका दरले बढ्ने गरेको गुनासो पनि गरे ।

footpath ktm (10)1676870194.jpg

प्रत्येक दुई वर्षमा २० प्रतिशतले भाडा वृद्धि हुने लिखित सम्झौता नै हुने गरेकाले व्यवसायीहरु मारमा परेको भन्दै कटुवालले प्रधानमन्त्री स्वयंले बैंकको ब्याजदर एकल अंकमा ल्याउने भनेर बोले पनि व्यवहारमा ल्याउन नसकेको बताए । सरकारले निजी क्षेत्रलाई अनकुल हुने बोल्ड निर्णय गर्नु आवश्यक रहेको भन्दै कटुवालले सरकारले निजी क्षेत्र भनेर केही व्यवसायीहरुलाई मात्रै बोलाउने गरेकोले वास्तविक पीडित व्यवसायीहरु सरकारको नजरमा कहिल्यै नपरेको उनको गुनासो छ ।

‘पछिल्लो समय सटर खाली गरेर  व्यवसायीहरु पलायन हुनुको मुख्य कारण घर भाडा लगातार रुपमा वृद्धि हुनु, घर भाडा घट्नेभन्दा पनि प्रत्येक वर्ष १० प्रतिशतका दरले बढ्ने गरेकोले हो । बैंकको वृद्धि भएको ब्याजदर  कम भएको छैन । प्रधानमन्त्री स्वयंले बैंकको ब्याजदर एकल अंकमा ल्याउने भनेर बोलेपनि व्यवहारमा ल्याउन सकेको देखिँदैन । यस्ता विविध कारणले ३५ देखि ४० प्रतिशत व्यवसायिक सटरहरु खाली भएका छन्,’ उनले भने ।

उनले राष्ट्रिय व्यवसायी महासंघ लगायतका संस्थाहरुले विगत १० वर्षदेखि वैज्ञानिक घरभाडादर लागू गर्नुपर्ने माग राख्दै आएपनि सरकारले सुनुवाई नगरेको आरोप लगाए । वैज्ञानिक घरभाडादर लागू गर्नुपर्ने काम संघीय सरकारले स्थानीय सरकारलाई हस्ताणतरण गर्दा थप समस्या भएको भन्दै उनले स्थानीय सरकारले वैज्ञानिक घरभाडा कायम गर्ने ऐन बनाउन पाउने व्यवस्था भएपनि अहिलेसम्म लागू हुन नसकेकोले समस्या भएको धारणा राखे ।

घरभाडा सम्बन्धी उचित ऐन नभएको कारण पनि अहिले सटर खाली हुने क्रम बढेको भन्दै उनले अहिले १० करोड लगानी गरेर व्यवसाय सुरु गर्ने व्यवसायीको व्यवसाय घरबेटीले नचाहेमा ३५ दिनको मात्रै हुने पनि बताए । ३५ दिनमा घरबेटीले नचाहेको खण्डमा सम्झौता खारेज हुने अवस्था रहेकोले सरकारले वैज्ञानिक घरभाडा सम्बन्धी ऐन संसदबाट बनाएर लागू गर्न आवश्यक रहेको उनको भनाइ छ ।

चारदेखि पाँच वटा सटर लिएर व्यवसाय गर्ने व्यवसायीले खर्च धान्न नसकेर दुईवटा सटरमा व्यवसाय गर्न थालेका व्यवसायीहरु बताउँछन् । पछिल्लो समय काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा ‘टुलेट’सहितका पोस्टर तथा होर्डिङ बोर्ड जताततै देखिन्छन् । यसले पनि व्यवसायी ठूलो संख्यामा पलायन भएको अनुमान गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १५:३१
प्रतिक्रिया दिनुहोस्