कर्णाली सरकारमा कांग्रेस पनि सहभागि, ४ मन्त्रीले लिए शपथ

बिहीबार, वैशाख ७, २०८०

सुर्खेत– कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागि भएको छ । कांग्रेसका ३ जना मन्त्रीले बिहीबार शपथ लिएपछि मन्त्रिपरिषद्ले पनि पूर्णता पाएको छ । मुख्यमन्त्री राजकुमार शर्माले नेपाली कांग्रेसका ३ जनालाई मन्त्री नियुक्त गरेका छन् ।

कर्णाली प्रदेशमा कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा वेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसीले शपथ लिएका हुन्

उनलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

यस्तै, यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री रहेकी नेकपा (माओवादी कन्द्र)की उर्मिला विश्वकर्माले जलस्रोत तथा उर्जा विकास मन्त्रीको रुपमा शपथ लिएकी छन् ।

यसअघि बुधवार नै मन्त्रीहरूको शपथ समय तोकिए पनि शपथ हुन सकेको थिएन । कांग्रेस भित्रको विवादका कारण कांग्रेसको केन्द्रीय नेतृत्वको दबाबमा मुख्यमन्त्री शर्माले नियुक्ति रोकेका थिए ।

यसअघि मुख्यमन्त्रीकै लाइनमा रहेका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य राजीवविक्रम शाहले मन्त्रीमा दाबी गरिरहेका थिए ।

तर मंगलवबार कांग्रेसको कार्यसम्पादन समितिको निर्णयपछि दलका नेता जीवनबहादुर शाहीले अर्थमा सिंह, सामाजिक विकास मन्त्रीमा पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा बिसीलाई सिफारिस गरेपछि विवाद भएर शपथ रोकिएको थियो ।

कांग्रेस संसदीय दलका नेता शाहीको निवासमा भएको छलफलबाट नियुक्ति र शपथ गराउने सहमति जुटेपछि उनीहरुले शपथ गरेका हुन् ।

८ वटै मन्त्रालय कायम

कर्णाली प्रदेशमा अन्ततः ८ वटै मन्त्रालय कायम गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ७ मन्त्रालय कायम गर्ने निर्णय खारेज गर्दै ८ वटै कायम राखेको हो ।

२७ पुसमा नेकपा एमाले–माओवादीबीच ८ वटा मन्त्रालय घटाएर ७ मा झार्ने सहमतिसँगै ८ माघमा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई भौतिक पूर्वाधारमा गाभ्ने निर्णय भएको थियो ।

यद्यपि प्रशासनिक रुपमा भने असारपछि मात्रै मर्ज गर्ने भनिएको थियो । तर, माओवादीले सो मन्त्रालयमा राज्यमन्त्रीसमेत नियुक्त गरी कुल मन्त्रीको संख्या ८ पुगेपछि मन्त्रालय मर्ज गर्नुको औचित्य नभएको भन्दै ८ मन्त्रालय कायम गरिएको हो ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १३:५१
प्रतिक्रिया दिनुहोस्