सिंहदरबार ठप्प पार्ने निजामती कर्मचारीहरूको चेतावनी

बुधबार, वैशाख ६, २०८०

काठमाडौं– संयुक्त ट्रेड युनियन सञ्जालले कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन तत्काल जारी गराउनको लागि दबाबमूलक कार्यक्रम सार्वजनिक गरेको छ ।

सञ्जालले नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिका अध्यक्ष लेखनाथ कोइराला, नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्यसमितिका अध्यक्ष गोपालप्रसाद पोखरेल, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) केन्द्रीय कार्यसमितिका अध्यक्ष हरि बहादुर रावल, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल केन्द्रीय कार्यसमितिका अध्यक्ष गगन सिंह विष्ट र नेपाल मधेशी निजामती कर्मचारी मञ्च केन्द्रीय कार्यसमितिका अध्यक्ष भुवनेश्वरी चौधरीको संयुक्त हस्ताक्षरसहितको विज्ञप्तीमार्फत दबाबमूलक कार्यक्रम सार्वजनिक गरेको हो ।

आफूहरूका मागलाई सरकारले बेवास्ता गरेको बताउँदै कर्मचारीहरूले सरकारको प्रशासनिक केन्द्र सिंहदरबार ठप्प पार्नेसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

घोषित कार्यक्रमअनुसार उनीहरूले वैशाख १९ र २० गते प्रधानमन्त्रीसहित राजनीतिक नेतृत्व र मुख्य सचिवलगायतका उच्च सरकारी अधिकारीहरूलाई एसएमएस पठाउने छन् । वैशाख २१ गते सिंहदरबार कार्यस्थल रहेका कर्मचारीहरू कार्यालयमा अनुपस्थित रही कामकाज ठप्प पार्नेछन् । 

कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले सरकारले आफूहरूले बाध्य भएर आन्दोलनका कार्यक्रम घोषणा गरिएको बताए । 

‘सरकारले प्रस्तावित संघीय निजामती सेवा ऐनमा हाम्रा माग समावेश गरी मस्यौदा तत्काल सार्वजनिक नगरेमा थप आन्दोलनका कार्यक्रम घोषणा हुनेछन्’, उनले भने ।

कर्मचारीहरूले उठाएका वृत्ति विकास, सेवा सुरक्षालगायतका माग सम्बोधन हुने गरी चालु अधिवेशनबाट संघीय निजामती सेवा ऐन जारी गर्नुपर्ने उनीहरूको माग छ ।

देश संघीय राज्य व्यवस्थामा गएको लामो समयसम्म संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन निर्माणमासमेत अन्योलता सिर्जना भएको सचिव भट्टराईले उनले बताए ।

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १६:२७
प्रतिक्रिया दिनुहोस्