घुमघाम

रारा पुग्ने पर्यटकको लागि बफर जोनमा खुल्यो २५ करोड लगानीमा रिसोर्ट

कति लाग्छ बस्न र खान ?
मंगलबार, वैशाख ५, २०८०

मुगु– तत्कालिन राजा महेन्द्रले धर्तीकी अप्सरा उपनाम दिएको मुगुको रारा आउने पर्यटकको खाना खाने र बस्ने समस्या कम गर्न रारा भिलेज रिसोर्ट खुलेको छ ।

सो रिसोर्ट यसैसाता संचालनमा आएको हो । कुल २५ करोड रुपैयाँ लागत अनुमान गरिएको सो रिसोर्ट अहिले पर्यटनको लागि बस्न र खाना दिन सक्ने अवस्थामा आएसँगै संचालनमा ल्याइएको हो । अहिलेसम्म सो रिसोर्टमा ५ करोड रुपैयाँ लगानी भइसकेको छ ।

रारा ताल, छायाँनाथ हिमाल क्षेत्र प्रष्ट देख्न सकिने स्थानमा खुलेको रिसोर्ट पूर्ण हुन २५ करोड लाग्ने रारा भिलेज रिसोर्ट प्रालिका अध्यक्ष अनुपविक्रम शाहले बताए ।

rara21681822629.jpg

‘रारामा बस्नै पाइदैन, चाहेजस्तो खानै पाइदैन भन्ने सन्देश फैलिएको छ, । अब रारा आउँदा खाने बस्ने चिन्ता नलिए हुन्छ । रारामा आउँदा तालमा फोटो खिचेर फर्किहाल्नु पर्दैन । हामीसँगै एकै दिन ५० पर्यटकलाई राख्नसक्ने क्षमता छ,’ सुलभ दरमा यहाँ बस्न सकिने अवस्था सिर्जना भएको छ,’ अध्यक्ष शाहले भने ।

Rara41681822629.jpg

सो क्षेत्रमा अन्य होमस्टे पनि छन् । त्यसैकारण ढुक्क भएर रारा आए हुने पर्यटन व्यवसायीहरुको भनाइ छ ।

रारा क्षेत्रको समस्या नै पर्यटकको बसाई लम्ब्याउन नसक्नु रहेको शाहको अनुभव छ । तालसँगैका मुर्मा गाउँ, मुराकोटको भ्रमण गराउन सके पर्यटकको बसाइ लम्बिने उनले बताए ।

rara31681822629.jpg

आन्तरिक र बाह्य पर्यटकको बसाइ लम्ब्याउने योजनासहित आफूहरु जोखिम लिएर लगानी गर्न आएको उनले बताए ।

‘रारा क्षेत्रको सम्पत्ति भनेको प्रकृति हो । रिसोर्ट, होटल जे बने पनि आँखामा नबिझ्ने गरि बनाउनु पर्छ । आन्तरिक पर्यटक लक्षित मुल्यसहितको सुविधा दिन सके रारा आउने धेरैको सपना पूरा गर्न सकिन्छ । त्यसैका लागि २० रोपनी क्षेत्रफलमा परम्परागत बस्तीकै शैलीमा रिसोर्ट बनाएर क्षमता बढाउँछौं,’ उनले भने ।

सो रिसोर्टमा एक छाक खानाको प्रतिव्यक्ति करिब ५ सय रुपैयाँ र रुमको २ हजार रुपैयाँ तोकिएको रिसोर्टले जानकारी दिएको छ ।

छुटाउनै नहुने मुर्माकोट

ताल क्षेत्रबाट पैदल करिब तीन घन्टामा मुर्माकोट पुग्न सकिन्छ । मुर्माकोटबाट राराको सबै क्षेत्रसहितको सुन्दर दृष्यसँगै छयाँनाथसहितका हिमाली दृष्य देख्न सकिन्छ ।

Rara51681822629.jpg

तालको देब्रेतिर करिब आधा घन्टा तेर्साे हिँडेपछि मुर्मा क्षेत्र पुगिन्छ । त्यहाँबाट करिब २ घन्टा उकालो चढेपछि मुर्माकोट पुगिने स्थानीय बताउँछन् । हिँड्न सक्नेका लागि लोठसल्लाको जंगल हुँदै जान रमाइलो हुन्छ । हिँड्न नसक्नेहरुका लागि घोडा चढ्न पाइने सुविधा पनि उलब्ध छ ।

निकुन्ज क्षेत्रबाट हटाइदै संरचना, बफर जोनमा बढ्दै होमस्टे

रारा राष्ट्रिय निकुन्ज क्षेत्रका भौतिक संरचना हटाउने तयारीसँगै बफर जोनमा होमस्टेहरु बढ्न थालेका छन् । राराको किनारमा रहेको नेपाली सेनाको ब्यारेक, निकुन्जको कार्यालयसँगै डाँफे गेष्ट हाउससमेत हटाउने प्रक्रिया शुरु भइसकेको छ । 

निकुन्जका वार्डेन विश्वबहादुर श्रेष्ठका अनुसार निकुञ्जको कोर क्षेत्रमा रहेका सबै भौतिक संरचना सार्ने तयारी शुरु भइसकेको छ । सेनासँगै निकुञ्जको कार्यालय सार्न कोर क्षेत्र बाहिर भौतिक संरचना निर्माणको काम सुरु भइसकेको हो ।

‘ताल वरिपरि अब कुनै भौतिक संरचना रहँदैन सबै सर्छन् । ताल नजिक रहेको गेष्ट हाउस पनि अब रहन्न,’ वार्डेन श्रेष्ठले भने ।

Rara61681822630.jpg

वार्डेन श्रेष्ठका अनुसार यस अगाडि आन्तरिक पर्यटकको संख्या पातलो भए पनि पछिल्लो समय भने एकै दिन तीन सयसम्म नेपाली ताल क्षेत्रमा पुगेका छन् । तर सो क्षेत्रमा खाने बस्नेकै चिन्ताले पर्यटकहरू ताल क्षेत्रमा पुगेर भ्याए बोटिङसम्म गर्ने, नभ्याए तालमा पुगेको तस्बिर खिचेर फर्किहाल्ने गरेको उनले बताए ।

त्यसमा ताल पारी रहेको एकमात्र गेष्ट हाउस पनि हट्ने भएको छ । श्रेष्ठले निकुन्जको कोर क्षेत्रमा कुनै भौतिक संरचना नरहे पनि त्यसको बिकल्पमा बफर जोन क्षेत्रमा होमस्टेहरु बढेको जानकारी दिए ।

अहिले रारा क्षेत्रमा खान र बस्न समस्या नभए पनि जाकारीको अभावमा राराको प्राकृतिक सुन्दरतामा रम्नै नपाई पर्यटकहरू फर्किने गरेको उनले बताए । 

‘तालबाट देब्रेतिर बफर जोन छ । त्यहाँ पर्यटकको आर्थिक योजना अनुसारका रिसोर्ट र होमस्टे छन् । तर धेरैलाई यो थाहा नहुँदा रारामै बस्ने योजनासहित आउने पर्यटकको संख्या कम छ,’ श्रेष्ठले भने ।

बफर जोन रहेको छायाँनाथ रारा गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष बिर्खबहादुर रोकाया रारा आउने नै हो भने दुई तीन दिन सो क्षेत्रमा बस्ने योजना बनाएर आउन सुझाव दिन्छन् ।

rara11681822628.jpg

‘रारा ताल नजिकैबाट जति शुन्दर देखिन्छ, मुर्माकोटबाट त्योभन्दा सुन्दर देखिन्छ । जसलाई मुर्माकोट थाहा छ, उहाँहरू आउनुहुन्छ । धेरै त तालको फोटो खिचेर फर्किहाल्नुहुन्छ,’ रोकायाले भने ।

उनले कोर क्षेत्रमा भौतिक संरचना नरहने पक्का भएसँगै बफर जोनमा ब्यवसायीहरु आउनेक्रम बढेको बताए ।  वडा अध्यक्ष रोकायाका अनुसार अहिले नै आधा दर्जनभन्दा बढि रिसोर्ट र होमस्टे सन्चालनमा छन् ।

मुर्माकोट क्षेत्रमा यस अगाडि नै रारा इको रिसोर्ट, रारा कल्चरल होमस्टे लगायत सन्चालनमा छन् ।

सो क्षेत्रको अधिकांश स्थानीयको जमिन ब्यवसायीहरुले किनिसकेको र पर्यटन क्षेत्रमा कहलिएमा ब्यवसायीहरु समेत आएर रिसोर्ट खोल्ने तयारीमा रहेको रोकायाले बताए । 

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १८:३९
प्रतिक्रिया दिनुहोस्