चेस धेरै खेलेर प्रचण्डले जंगलदेखि सरकारमा तहल्का मच्चाउनुभएको छः अध्यक्ष तिमिल्सिना

‘चेस खेलको उत्पत्ति जनकपुरबाट भएको हो’
मंगलबार, वैशाख ५, २०८०

काठमाडौँ– राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नयाँ पार्टी र पार्टीका नेतृत्वप्रति कटाक्ष गरेका छन् ।

मंगलवारबाट काठमाडौंमा शुरु भएको नेशनल चेस च्याम्पियनसिप २०२३ को उद्घाटन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी र पार्टीका नेताहरुप्रति कटाक्ष गरेका हुन् ।

त्याग गरेका नेताहरुको तुलनामा भर्खरै राजनीतिमा आएका नेताहरुको चर्चा बढी भइरहेको उनले भन्दै राजनीतिमा टिकेर देखाउन सक्नुपर्ने धारणा राखे ।

‘अब गर्ने कुराको महत्व हुन्छ, हिजो हामीले के गरेका थियौँ, त्यो इतिहास हो । इतिहासलाई बचाउने र त्यसलाई जीवन्त दिने कुरामा वर्तमानमा पनि त्यत्तिकै राख्नुपर्छ । आज त्यत्ति नेताहरुले चासो नदिएको जस्तो देखिन्छ । त्याग गरेका भन्दा भर्खरै हार्ईंफाईं गर्नेहरु नै बढी चर्चामा आउने गरेका छन् । कति टिक्नुहुन्छ, टिक्दा त राम्रो, शुभकामना, कति हुन्छ भविष्यले बताउँछ,’ अध्यक्ष तिमिल्सिनाले भने ।

बुद्धिचालका कारण मानिसहरुको दिमाग तेजिलो हुने उनको दाबी छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेलमा रहँदादेखि नै खेलहरुमा उत्कृष्ट रहेको भन्दै चेस खेलकै कारण अहिलेको राजनीतिक खेलाडी बनेको उनको भनाइ छ ।

चेस खेलले मानिसको क्षमता विकास गर्ने भन्दै अध्यक्ष तिमिल्सिनाले राजनीतिक खेलाडी बन्नुमा एउटा कारण चेस पनि रहेको दाबी गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि चेस धेरै खेल्ने खेलाडी भएकाले नै जंगलदेखि संसद र सरकारसम्म पुग्नुको कारण हुनसक्ने उनको अनुमान छ ।

अध्यक्ष तिमिल्सिनाले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले धेरै चेस खेलेका कारण धेरै पटक प्रधानमन्त्री बन्नुभएको हुनसक्ने बताए ।

‘बुद्धिचाल राजनीति गर्नेले पनि राम्रोसँग खेल्यो भने धेरैकुरा जान्दछ । मैले चिनेको मध्येमा र थाहा पाएको मध्येमा धेरै नेताहरु खेल्नुहोला । मसँग जोडिएको भएर भनेको होइन, केपी ओलीजी जेलमा हामी सँगै थियौँ । त्यतिबेला पनि चेसमा उहाँलाई कसैले हराउन सक्दैन थियो । उहाँ राजनीतिक खेलाडी त हुँदै हो, सबैले बुझेकै छौँ, साँच्चिकै खेलाडी पनि हो । जेलमा हुने खेलहरुमा भलिबल अलिअलि, क्यारेमबोड, चेस, ती सबैमा उहाँलाई कसैले हराउन सक्नु हुँदैन थियो । खेलका कारणले राजनीतिमा जुन ढंगले अहिले भुमिका खेल्नुभएको छ, चेसले यो विकास गरेको हुनुपर्छ,’ अध्यक्ष तिमिल्सिनाले भने ।

उनले वर्तमान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि धेरै चेस खेलका कारण पटक पटक प्रधानमन्त्री बनेका हुन सक्ने अनुमान गरे ।

‘शेरबहादुर देउवाले धेरै खेल्नुभएको होला, किनभने उहाँ धेरै पटक प्रधानमन्त्री हुनुभएको छ । पुष्पकमल दाहालले खेल्नुभएको होला, जंगलदेखि सदन, सरकार सबैतिर तहल्का मच्चाउनुभएको छ । जेलदेखि अहिलेसम्म मेरो ओलीजसँग संगत लामो भएकोले थाहा पाएको हो । खेलको महत्व देशले बुझ्न थालेको हो कि भन्ने लागिरहेको छ । तर चेसलाई राज्यले त्यत्ति महत्व दिएको छ जस्तो लाग्दैन, दिनुपर्छ,’ उनले थपे ।

अध्यक्ष तिमिल्सिनाले सरकारले चेस खेललाई धेरै महत्व नदिएकाले आगामी दिनमा महत्व दिन आग्रह गरे । चेस खेल नेपालको जनकपुरबाट उत्पत्ति भएको उनको दाबी छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १६:५५
प्रतिक्रिया दिनुहोस्