महँगी, भ्रष्टाचार र कालोबजारी नियन्त्रण गर्नुपर्ने माग

सोमबार, वैशाख ४, २०८०

काठमाडौँ– स्वदेशमा रोजगारीको सुनिश्चिततासहित महँगी, भ्रष्टाचार र कालोबजारी नियन्त्रण गर्नुपर्ने माग गरिएको छ । 

राष्ट्रवादी केन्द्र नेपालले यहाँ आज पत्रकार सम्मेलन गरी मुलुककै स्रोतरसाधन प्रयोग गरी रोजगारी सिर्जना गरी देशलाई आर्थिकरूपमा सम्पन्न बनाउनुपर्ने माग गरेको हो । 

सो संस्थाले ऋणीहरूलाई सहज बनाएर व्यवसाय सञ्चालनको वातावरण तयार गर्नुपर्ने, यातायात क्षेत्रमा भएका विकृति तथा विसङ्गति अन्त्य गर्नुपर्ने र आम जनताको आधारभूत आवश्यकता पूरा गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

राष्ट्रवादी केन्द्र नेपालका अध्यक्ष चन्द्रबहादुर थापाले पटकपटक उद्योगी व्यवसायी र आमजनताका समस्या समाधानका लागि ध्यानाकर्षण गराउँदा पनि सरकारले चासो नदेखाएको भन्दै गुनासो गरे ।

सार्वजनिक यातायात व्यवसायी महासङ्घका संरक्षक होमप्रसाद अधिकारी र राष्ट्रवादी केन्द्र नेपालका सचिवालय सदस्य भुवन सङ्गमले राष्ट्रियताको सवालमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

ट्रक व्यवसायी महासङ्घका महासचिव राजेन्द्रविक्रम बानियाँ र राष्ट्रवादी उद्योग व्यवसायी महासङ्घका अध्यक्ष हिमलाल पौडेल राजनीतिमा युवा पुस्तालाई अवसर दिनुपर्ने धारणा राखे । 

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  २१:३७
प्रतिक्रिया दिनुहोस्