मन्दीले शिथिल बनेको उद्योगलाई विनाजानकारीको लोडसेडिङले मरणासन्न बनायो– उद्योगी

सोमबार, वैशाख ४, २०८०

काठमाडौँ– पूर्वका उद्योगी व्यवसायीले मन्दीको कारण शिथिल अवस्थामा रहेको उद्योग व्यवसाय क्षेत्र विद्युतको अनियमितताले झनै कठिन अवस्थामा पुगेको बताएका छन् । 

गत पुस महिनादेखि विद्युतको अनियमित आपूर्ति, बारम्बारको ट्रिपिङ, लो भोल्टेज, पूर्व सुचना नदिइ हुने विद्युत आपूर्ति बन्द जस्ता समस्याले उद्योग क्षेत्रलाई मरणासन्न बनाएको उनीहरुको भनाइ छ ।

उद्योग संगठन मोरङले आज एक विज्ञप्ति जारी गर्दै यस्तो समस्याबारे ध्यानाकर्षण गराएको हो ।

‘लामो समयदेखि बजारमा व्याप्त मन्दी, बैंकको चर्को ब्याजदर लगायत आन्तरिक तथा वाह्य कारणले शिथिल वनेको उद्योग व्यवसाय क्षेत्रले २०७९ पुस महिनादेखि भोग्दै आएको विद्युतको अनियमित आपूर्ति, बारम्वारको ट्रिपिङ, लो भोल्टेज, पूर्व सूचना नदिई विद्युत कटौती जस्ता कारणले झनै मरणासन्न अवस्थामा पु¥याएको छ,’ संगठनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वर्तमान विषम परिस्थितिमा समेत आन्तरिक बजारको माग र आपूर्तिलाई सन्तुलनमा राख्न, आयातित वस्तुमाथिको परनिर्भरतलाई कम गर्न र रोजगारी सिर्जना गर्न सहयोग पु¥याउदै आइरहेका उद्योग व्यवसाय विद्युत समस्याका कारण निर्वाध संचालन हुन सकेनन् भने वन्द गरी उद्योगी÷व्यवसायी सडकमा आउनुको विकल्प नरहने संगठनको भनाइ छ । त्यसपछि उत्पन्न हुने विकराल अवस्थाप्रति गम्भीर हुन संगठनले सम्बन्धित निकायसँग अनुरोध पनि गरेको छ ।

विद्युत आपूर्तिमा आइरहने समस्याका कारण उत्पादन प्रकृया ठप्प हुने, कच्चा पदार्थ खेर जाने, मिलमेशिनेरी विग्रनुका साथै श्रमिक व्यवस्थापनमा समेत कठिनाइ भइ अनावश्यक रुपमा संचालन खर्च तथा उत्पादन लागतमा वृद्धि हुदै गएको उद्योगीको भनाइ छ । अनियमित विद्युत आपूर्तिको कारण उत्पादित वस्तुको गुणस्तरमा र प्रतिष्पर्धात्मक क्षमता नै ह्रास आइरहेको उनीहरुको भनाइ छ ।

औद्योगिक क्षेत्रको निर्वाध संचालनका लागि अत्यन्त महत्वपूर्ण कम्पोनेन्टका रुपमा रहेको विद्युत आपूर्तिलाई कुनैैपनि सूचना नदिई एवं विभिन्न कारण देखाइ कटौति गरिदिदा उत्पादन लागतमा हुने वृद्धि केवल उद्योगको मात्र नभई राज्यको नोक्सानीका रुपमा समेत लिई यसतर्फ गम्भीर हुन संगठनले अनुरोध पनि गरेको छ ।

‘वर्तमान जटिल अवस्थाका वावजुद संचालनमा रहेका उद्योग प्रतिष्ठानले विद्युत आपूर्तिमा आइरहने समस्याका कारण भोग्नुपरेको गम्भीर नकारात्मक प्रभावलाई दृष्टिगत गरी विद्युत प्राधिकरणले विद्युत आपूर्तिको समस्यालाई समस्याको रुपमा लिइ यसको उपयुक्त समाधान खोजी विद्युत आपूर्ति नियमित गरी सहज औद्योगिक वातावरण तयार गर्न संगठन अपिल गर्दछ,’ संगठनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १६:२८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार
थप समाचार