बजारमा ८० प्रतिशत माग घट्योः परिसंघ अध्यक्ष अग्रवाल

सोमबार, वैशाख ४, २०८०

काठमाडौँ– का अध्यक्ष विष्णुकुमार अग्रवालले बजारमा ४० देखि ८० प्रतिशत मागमा संकुचन आएको बताएका छन् ।

सोमवार काठमाडौंमा सातौं चितवन अन्तर्राष्ट्रिय प्रदर्शनीबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् । उद्योग परिसंघले गरेको विभिन्न अध्ययन प्रतिवेदन अनुसार मुलुकभर उत्पादित वस्तुको मागमा ४० देखि ८० प्रतिशत संकुचन आएको देखाएको उनले बताए ।

अध्यक्ष अग्रवालका अनुसार पछिल्लो समय उद्योगी व्यवसायीहरु कठिन अवस्थामा गुज्रिएका छन् । व्यवसायीहरु बैंकको उच्च ब्याजदरको कारण समस्यामा रहेको उनको भनाइ छ । अध्यक्ष अग्रवालले पछिल्लो समय कागजी रुपमा बैंकहरुमा तरलताको अभाव नदेखिए पनि उद्योगी व्यवसायीहरुले सहजरुपमा कर्जा पाउन नसकेको बताए । व्यवसायीहरुले बजारबाट उधारो उठाउन नसक्दा बैंकको किस्ता तिर्नसमेत नसकिरहेको उनको भनाइ छ ।

‘अहिले उद्योगी र व्यवसायीहरु कठिन परिस्थितिमा गुज्रिरहेका छन् । व्यवसायीहरुले बैंकको उच्च ब्याजदरको समाना गर्नु परेको छ । बैंकहरुमा तरलताको अवस्था सुधार भए पनि कागजमा सिमित हुँदा उद्योगी व्यवसायीहरुले अझै ऋण पाउन समस्या छ । व्यवसायीहरुले बजारबाट उधारो उठाउन नसक्ने कमजोर अवस्था देखापरेको छ । व्यवसायीहरुले बैंकको किस्ता तिर्न सकिरहेका छैनन्,’ उनले भने ।

अध्यक्ष अग्रवालले वर्तमान आर्थिक समस्याको समाधान गरी सरकारले सकारात्मक सन्देश दिन सक्नुपर्ने धारणा राखे ।  सरकारले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउन केही कदमहरु चाल्न आवश्यक रहेको भन्दै उनले सरकारले समयमा नै पुँजीगत खर्च गर्न नसक्दा पनि धेरै समस्या देखिएको दाबी गरे ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्