आन्तरिक राजस्व पोहोरको भन्दा ५ अर्ब ५५ करोड कम, कुनमा कति उठ्यो ?

सोमबार, वैशाख ४, २०८०

काठमाडौँ– आन्तरिक राजस्व विभागले गत आर्थिक वर्षको भन्दा पनि कम राजस्व संकलन गरेको छ । चैत मसान्तसम्ममा संकलन भएको आन्तरिक राजस्व पोहोरको भन्दा पनि कम देखिएको हो ।

आन्तरिक राजस्व विभागले गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ३ खर्ब ४२ अर्ब ६५ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । तर, चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा जम्मा ३ खर्ब ३७ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन भएको छ । विभागले संकलन गरेको राजस्व गत आर्थिक वर्षको तुलनामा ५ अर्ब ५५ करोड रुपैयाँ कम हो ।

चैत महिनामा मात्रै संकलन हुने राजस्व पनि पोहोरको भन्दा कम उठेको छ । गत आर्थिक वर्षको चैत महिनामा आन्तरिक राजस्व विभागले ५७ अर्ब ५३ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । तर, चालु आर्थिक वर्षको चैत महिनामा भने जम्मा ५५ अर्ब २ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको छ । 

विभागले गत आर्थिक वर्षको चैत महिनाको तुलनामा चालु आर्थिक वर्षको चैत महिनामा साढे २ अर्ब रुपैयाँ राजस्व कम संकलन गरेको हो ।

बढी राजस्व संकलन हुने शिर्षकहरु आयकर, घरबहाल कर, मूल्य अभिवृद्धि कर (आन्तरिक) जस्ता करहरु गत आर्थिक वर्षको तुलनामा कम संकलन भएकोले समग्र संकलन नै कम भएको देखिएको हो ।

विभागले दिएको जानकारी अनुसार गत आर्थिक वर्षको तुलनामा आयकर ९१ प्रतिशत, घरबहाल कर ९५ प्रतिशत र मूल्य अभिबृद्धिकर (आन्तरिक) ९८ प्रतिशत मात्रै संकलन भएको छ ।

बैंकिङ क्षेत्रमा तरलता अभाव भएपछि बैंक तथा वित्तीय संस्थाहरुले व्याज बढाउँदाको फाइदा सरकारले पनि पाएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा व्याज निकै बढेका कारण सरकारले पाउने व्याज कर पनि बढेको छ ।

income-tax-chait-end1681709957.jpg

आन्तरिक राजस्व विभागका अनुसार गत आर्थिक वर्षको चैत मसान्तसम्ममा व्याजकरबाट १७ अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । चालु आर्थिक वर्षको सोही अवधी अर्थात गत चैत मसान्तसम्ममा सरकारले २५ अर्ब २१ करोड रुपैयाँ व्याजकर पाएको छ । सरकारले व्याजकरबाट गत वर्षको तुलनामा करिब ८ अर्ब रुपैयाँ बढी राजस्व पाएको हो ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  ११:२३
प्रतिक्रिया दिनुहोस्