प्रधानमन्त्रीको भारत भ्रमणको गृहकार्य सुरु हुन्छ : परराष्ट्रमन्त्री

आइतबार, वैशाख ३, २०८०

काठमाडौं –नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणको गृहकार्य अघि बढने बताएका छन् । 

परराष्ट्र मन्त्रालयमा आइतबार पदभार ग्रहण गर्दै उनले परराष्ट्रमा आफ्नो नियुक्ति प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका लागि पनि हुन सक्ने बताए । ‘भारत भ्रमणको गृहकार्यका लागि पनि म अब छलफल गर्छु । सरकारले मलाई त्यसका लागि पनि जिम्मेवारी लिएको हुन सक्छ । मैले कार्यभार सम्हालेको छु । अब प्रधानमन्त्रीको भारत भ्रमणबारे गृहकार्य अघि बढ्छ’, उनले भने । 

उनले अबको प्राथमिकता सन्तुलित परराष्ट्रनीति भएको पनि बताएक । ‘नेपाल शान्तिपूर्ण मुलुक हो । संसारका सबै देशसँग नेपालको शान्तिपूर्ण र सौहार्द सम्बन्ध रहिआएको छ’, उनले भने, ‘आगामी दिनमा पनि विश्वभरका देशहरु र छिमेकीसँग पनि सम्बन्ध घनिष्ठ बनाउँदै लान्छौँ ।’साउदले नेपाललाई शान्तिप्रिय लोकतान्त्रिक देशको रुपमा विश्वसामु चिनाउने उद्देश्यतर्फ लक्षित रहेर काम गर्ने बताए । 

मन्त्री साउदले पहिलो निर्णयका रुपमा दिल्लीस्थित पेरुको राजदूतले नेपाल पनि हेर्ने गरी सहमति दिएका छन् । 

सत्ता गठबन्धनमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणकै तयारीका लागि परराष्ट्रमन्त्री नियुक्त गरिहाल्ने सहमति भएअनुसार साउदले आइतबार नै शपथ लिएका हुन् । प्रधानमन्त्रीले वैशाख दोस्रो सातासम्ममा भारत भ्रमण गर्ने तयारी भएको जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १६:५७
प्रतिक्रिया दिनुहोस्