पदबहाली गर्दै अध्यक्ष ढकालले सार्वजनिक गरे ५ प्रतिवद्धता

आइतबार, वैशाख ३, २०८०

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यक्षको पदबहाली ग्रहण गरेका छन् ।

आईतवार टेकुस्थित महासंघको केन्द्रिय कार्यालयमा अध्यक्ष पदको पदबहाली ग्रहण गरेका हुन् । महासंघको वरिष्ठ उपाध्यक्षमा रहेका ढकाल महासंघको विधान अनुसार स्वतः अध्यक्ष बनेका हुन् ।

ढकालले गत बिहीवार निःर्वतमान अध्यक्ष शेखर गोल्छाबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । बिहीवार नै पद तथा गोपनियताको शपथ भएपनि आईतवार मात्रै ढकालले अध्यक्षको पदबहाली गरेका हुन् ।

पदबहाली गर्दै अध्यक्ष ढकालले सानो व्यवसायीले पनि महासंघको नेतृत्व गर्नसक्छ भन्ने उदारण आफैँ भएको बताए । नागरिकको अपेक्षा र सरकारको प्राथमिकतामा परेको कामलाई व्यवसायको रुपमा काम गर्दा सफल हुने उनको भनाइ छ ।

अध्यक्ष ढकालले सानो व्यवसाय पनि इमान्दारिताकासाथ काम गर्दै जाँदा सानो व्यवसायीले पनि महासंघमा पुग्नसक्ने धारणा राखे । कतिपय व्यवसायीहरुलाई महासंघमा आफ्नो प्रतिनिधित्व हुँदैन भन्ने चिन्ता रहेको भन्दै आफू सानो व्यवसायबाट नेतृत्वमा आएकाले सानो व्यवसायीहरुको महासंघमा प्रतिनिधित्व गराउने गरी काम गर्ने उनको प्रतिवद्धता छ ।

महासंघको नेतृत्वमा रहँदासम्म ५ काम गर्ने प्रतिवद्धता ढकालले जनाए । वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउन पहल गर्ने तथा उद्योग व्यवसायमा आन्तरिक तथा वैदेशिक लगानीको वातारण बनाउन नसकिने भन्दै सरोकारवाला पक्षहरु सरकार, नियमनकारी निकायसँग निजी क्षेत्रको तर्फबाट पहल गर्ने उनको प्रतिवद्धता छ । 

यस्तै, सरकार र निजी क्षेत्रबीच साझेदारी ग¥यो भने मात्रै व्यवसायिक गतिविधिहरु बढ्ने भन्दै सरकार र निजी क्षेत्रबीचको साझेदारी बढाउने, सरकार र दातृनियकासँग समन्वय गरी मुलुक भित्र र वैदेशिक रोजगारीमा जाने जनशक्तिलाई दक्ष बनाउने काम गर्ने अध्यक्ष ढकालको प्रतिवद्धता छ ।

महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले अध्यक्ष ढकालले सार्वजनिक गरेका ५ प्रतिवद्धतामा साथ दिएर अगाडि बढ्ने प्रविद्धता जनाए । अध्यक्ष ढकालले महासंघको नेतृत्व लिँदै गर्दा लिएका उद्देश्य पूरा गर्न सबैभन्दा नजिकको सहयोगी बनेर सहयोग गर्ने भन्दै गोल्छाले अनुभवी र सानो व्यवसायबाट ठूलो व्यवसायिक समूहमा पुगेको अनुभवले महासंघलाई नयाँ उचाईमा पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १३:२४
प्रतिक्रिया दिनुहोस्