३६ प्रतिशतसम्म व्याजमा ऋण लिन थाले घरजग्गा व्यवसायी, भर मिटरव्याजीकै

आइतबार, वैशाख ३, २०८०

काठमाडौँ– घरजग्गा व्यवसायमा मन्दी आएको र बैंक तथा वित्तीय संस्थाहरुले कर्जा उपलब्ध गराउन कडाइ गरेपछि सो क्षेत्रका व्यवसायी अनौपचारिक क्षेत्रबाट चर्काे व्याजमा ऋण लिन थालेका छन् ।

बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको सावाँ तथा व्याजको किस्ता तिर्न पनि महंगो व्याजमा ऋण लिनुपर्ने अवस्था सिर्जना भएको व्यवसायीले बताएका छन् । आफ्नो कारोबार नभएको बेलामा सहकारीबाट पैसा निकालेर बैंकको व्याज तिर्ने गरेपनि अहिले सहकारी संस्थाहरु पनि समस्यामा परेका कारण महंगो व्याजको विकल्प नभएको व्यवसायीहरुको भनाइ छ ।

व्यवसायीहरुका अनुसार उनीहरुले अहिले आफ्नो नामको जग्गा नै धितो राखेर महंगो व्याजमा ऋण लिन थालेका छन् । पहिला जग्गाको कारोबार गर्ने दलालहरु अहिले जग्गाधनी र प्लटिङ गर्नेहरुलाई जग्गा धितो लिएर ऋण दिने मान्छे खोज्न थालेका छन् । तर, यसरी ऋण दिने मान्छे खोजिदिदा पनि दलालले कमिसन लिने गरेको व्यवसायीले बताएका छन् ।

धितोको ५० प्रतिशत ऋण, व्याज ३६ प्रतिशतसम्म

व्यवसायी र दलालहरुका अनुसार अहिले देखिएको जग्गा कारोबार नै ऋण प्रयोजनको लागि हो । जग्गा किन्न तयार भएका व्यक्तिहरु पनि मूल्य घट्ने अनुमानमा नकिनी बसेका र विक्री गर्न चाहनेहरु पनि राम्रो ग्राहक नभटेका कारण नबेची बसेका छन् । यसैकारण जग्गाधनीहरु महंगो व्याजले अल्कालिन व्यवस्था गर्न लागेका छन् ।

‘चलनचल्तीको मूल्य ८० लाख रुपैयाँ छ भने त्यो जग्गा धितो राखेर ४० लाख ऋण दिदा हुन्छ । व्याज एक लाखको २ हजार भनेर सुरुमा भन्ने हो, जग्गाधनीलाई आवश्यक परेको मात्रा अनुसार ३६ प्रतिशतसम्म लिन सकिन्छ,’ भक्तपुरको दधिकोटतिर जग्गा दलाली गर्ने एक दलाले भने ।

कसरी हुन्छ कारोबार ?

यो कारोबारको मध्यस्थकर्ताको काम गर्ने पनि जग्गा दलालहरु नै हुन् । उनीहरुले सस्तो मूल्यको जग्गा किन्न खोजिरहेका ग्राहकलाई नै महंगो व्याज दिने व्यक्ति बनाउने गरेका छन् । यसको लागि उनीहरुले जग्गा किन्न खोज्ने व्यक्तिहरुलाई अहिले जग्गा किन्ने बेला नै होइन भन्दै जग्गा धितो राखेर ऋण दिने कार्य गराउन प्रेरित गर्ने गरेका छन् ।

‘अहिले जग्गा किन्ने बेला होइन । बैंकले ऋण दिदैन । जग्गाको मूल्य अझै घट्न सक्छ । त्यसैले ८० लाख पर्ने जग्गा धितो राखेर ४० लाख ऋण दिने, व्याज कम्तिमा २४ र बढीमा ३६ प्रतिशत पाइन्छ,’ ती जग्गा दलाले थपे ।

उनका अनुसार यो कार्य ‘पूरै बैधानिक’ र जोखिमरहित छ । दलालहरुका अनुसार जग्गावालाले ८० लाख पर्ने जग्गा ४० लाखमा ऋण दिने व्यक्तिलाई पास गरिदिन्छ । यसरी पास गर्दा मालपोत कार्यालयमा गएर राजीनामा नै पास गर्ने गरिएको छ । 

सँगै अर्काे एउटा कागज पनि गरिन्छ । सो कागजमा जग्गा किन्दा लिएको पैसा र लागेको खर्च जग्गाधनीले एक वर्षपछि एकै किस्तामा सावाँव्याज फिर्ता गर्ने भनिएको हुन्छ । एक वर्षपछि सावाँ व्याजसहित रकम फिर्ता गर्न सकेन भने सो जग्गा धितो लिने व्यक्ति कै हुन्छ । 

‘राजीनामा पास गरेर जग्गाको लेनदेन भएको हुन्छ । एक वर्षपछि जग्गा फिर्ता लिने बेलामा पनि राजीनामा पास गरेर नै जग्गाको लेनदेन हुन्छ । यसो हुँदा ऋण दिने व्यक्तिलाई जोखिम भएन र आम्दानी पनि पूरै बैधानिक भयो,’ अर्का एक दलाले भने ।

जग्गा फिर्ता गर्ने समयमा धितो लिने व्यक्तिले बद्मासी गर्न नपाउने विभिन्न उपायहरु गरिने दलालहरुको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १२:१२
प्रतिक्रिया दिनुहोस्