म्यान्मारमा ड्रोन आक्रमण : बालबालिकासहित ८ जनाको मृत्यु

शनिबार, वैशाख २, २०८०

याङ्गुन– पश्चिमी म्यान्मारको सागाइङ क्षेत्रमा बिहीबार भएको ड्रोन आक्रमणमा परी पाँच बालबालिकासहित आठ जनाको ज्यान गएको म्यान्मारको राज्य प्रशासन परिषद्ले जनाएको छ ।

साथै, घटनामा अन्य ३१ जना घाइते भएको परिषद्ले बताएको छ । 

स्थानीय समयअनुसार बिहीबार साँझ ५ः४० बजे सागाइङ क्षेत्रको सागाइङ सहरको एक गाउँमा रहेको एक सरकारी विद्यालय नजिकै ड्रोनमार्फत बम आक्रमण गरिएको समाचारमा जनाइएको छ ।

परम्परागत थिङयान जल महोत्सवको पूर्वसन्ध्यामा ड्रोनबाट चारवटा बम खसालेको बताइएको छ ।

मृत्यु हुनेमा परम्परागत थिङयान जल महोत्सव मनाइरहेका बालबालिकासहित गाउँले रहेका छन् । घाइतेलाई उपचारका लागि सागाइङ्ग अस्पतालमा पठाइएको जनाइएको छ ।

सोही दिन पूर्वी म्यानमारको शान राज्यको लासियो सहरमा भएको बम विस्फोटमा परी चार जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका थिए । आक्रमणकारीको खोजी कार्य जारी रहेको बताइएको छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  ०५:५१
प्रतिक्रिया दिनुहोस्