माओवादी नेता कार्यकर्तासँग प्रचण्डले भने– परिस्थिति सहज छैन

शुक्रबार, वैशाख १, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्डले आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा रहेको बताएका छन् ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा पार्टीका नेता तथा कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । संविधान सभामै उल्लेख भइसकेका र आत्मसाथ गरिसकेका कुरालाई अहिले तर्क, वितर्क गरेर असफल बनाउने र उल्ट्याउन खोज्ने प्रयास भइरहेको भन्दै उनले परिवर्तनलाई विचलनमा लैजाने काम भइरहेकोले सबै सजग रहनुपर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले वर्तमान समयमा आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र) सरकारमा रहेकाले परिवर्तन उल्टिँदैन जस्तो लागेपनि स्थिति सहज नरहेको जिकिर गरे । जिम्मेवारी बोध गरी संघर्ष नगर्ने हो भने अफ्ठ्यारो स्थिति आउनसक्ने भन्दै प्रधानमन्त्री दाहालले सरकारलाई जनमुखी बनाउने, जनताको आशा अनुसार काम गर्ने चुनौति रहेकाले योजनाहरुको कार्यान्वयन गर्दै जानुपर्ने धारणा राखे ।

‘संविधान सभाबाट भएको घोषणालाई पनि आत्मसाथ गरियो, तर अहिले त्यसलाई विभिन्न तर्क, विर्तक गरेर यसलाई कसरी असफल र उल्ट्याउन सकिन्छ र यसमार्फत सम्पूर्ण परिवर्तनलाई कसरी असफल बनाएर विचलनमा लैजान सकिन्छ ? भन्ने कसरत ठूलै छ । अहिले हामी सरकारको नेतृत्वमा छाँै, मन्त्री छौँ, प्रधानमन्त्री छौँ, त्यसकारण उल्टिँदैन होला जस्तो लाग्न पनि सक्छ, मैले सबै कमरेडहरुलाई बुझिनेगरी भन्न चाहन्छु, यो स्थिति सहज छैन । हामीले बुद्धि नपुर्‍याउने, जिम्मेवारी बोध नगर्ने हो, संघर्ष नगर्ने हो भने धेरै अफ्ठ्यारो स्थिति आउन सक्छ,’ उनले भने ।

प्रधानमन्त्री दाहालले आगामी दिनमा नेकपा (माओवादी केन्द्र) ले नेताहरुको समर्थन लिएर नेतृत्व प्राप्त गर्ने प्रणाली बदल्नुपर्ने बताए । नेतृत्वलाई दबाब दिएर नेतृत्व पाउने प्रणालीको अन्त्य नगरेसम्म पार्टी बन्न नसक्ने भन्दै उनले पार्टी जनतामा नजानु भनेको नेताहरुको सहयोगमा नेतृत्व लिने प्रणाली हाबी हुनु रहेको धारणा राखे ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  ११:१३
प्रतिक्रिया दिनुहोस्