बैतडीमा जिप दुर्घटना हुँदा एउटै गाउँका ६ जनाको मृत्यु

बुधबार, चैत २९, २०७९

काठमाडौँ– बैतडीमा जिप दुर्घटना हुँदा एउटै गाउँका ६ जनाको मृत्यु भएको छ ।

जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति करिब ११ः२५ बजे जिप दुर्घटना भएको हो । दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामी रहेको खत्रीको भनाइ छ । उनीहरू सबै एकै गाउँका हुन् ।

जिपमा सवार पाँचजना सकुशल छन् । जिप खस्ने क्रममा सडकमै हामफालेका पाँचैजना सकुशल रहेको प्रहरीले जनाएको छ । चालक सम्पर्कविहीन छन् ।

झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से१ज ७६४ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  ०६:४२
प्रतिक्रिया दिनुहोस्