म्यान्मारमा सेनाको 'त्रासदीपूर्ण नरसंहार', ‘दर्जनौँ नागरिक मारिए’ 

मंगलबार, चैत २८, २०७९

ब्याङ्कक/सिङ्गापुर– म्यान्मारमा जारी गृहयुद्धमा त्यहाँको सेनाले गरेको सबैभन्दा घातक हवाई आक्रमणमा परेर कम्तीमा ५३ जनाको मृत्यु भएको दाबी उक्त घटनाका प्रत्यक्षदर्शीहरूले गरेका छन् ।

मृत्यु हुनेमा कम्तीमा १५ महिला र धेरै बालबालिका रहेको उनीहरूको भनाइ छ। यद्यपि मृतकको सङ्ख्याबारे बीबीसीले स्वतन्त्र पुष्टि गर्न सकेको छैन ।

सागेइङ क्षेत्रको एउटा गाउँलाई निसाना बनाएर सेनाले हवाई आक्रमण गरेको हो । उक्त गाउँका मानिसहरूले सैन्य सरकारको विरोध गर्छन् ।

myanmar_army1681225269.JPG

सेनाले फेब्रुअरी २०२१ मा शासन आफ्नो हातमा लिएपछि विपक्षीहरूलाई लक्षित गर्दै हवाई आक्रमण गर्दै आएको छ ।

सागेइङ क्षेत्रका मानिसहरूले म्यान्मारमा सैन्य शासनको कडा विरोध गरेका छन् । उनीहरूले छुट्टै फौज बनाएका छन् तथा आफ्नै विद्यालय तथा स्वास्थ्य केन्द्रहरू सञ्चालन गरिरहेका छन् ।

गाउँका एक बासिन्दाले बीबीसीलाई बताएअनुसार त्यहाँ बिहान ७ बजे सैन्य विमान त्यहाँ उडेको थियो र माथिबाट बम खसालेको थियो । त्यसलगत्तै हेलिकप्टरबाट २० मिनेटजति गाउँमा बम खसालिएको भएको थियो ।

गाउँका बासिन्दाहरूले त्रासदी पूर्ण नरसंहारको दृश्य समाविष्ट भिडिओ साझा गरेका थिए । उक्त भिडिओमा क्षतविक्षत भएका शवहरू र जलिरहेका भवनहरू देखिन्छन् ।

‘यदि तपाईँ जीवित हुनुहुन्छ भने हामीलाई बोलाउनुहोस् । हामी तपाईँलाई सहयोग गर्न आउँदै छौँ,’ भिडिओ छायाङ्कन गर्नेहरू पा जी गी गाउँमा घाइतेहरूको खोजीमा चिच्याउँदै हिँडेको देखिन्छ । उनीहरूले शव गन्ने प्रयास गरेको तर शवहरू यत्रतत्र छरिएका कपडा तथा जलेको मोटरसाइकलमा अल्झिएका कारण गणना कठिन भएको बताए ।

पा जी गीमामा पीपल्स डिफेन्स फोर्स (पीडीएफ)को नयाँ कार्यालयको उद्घाटन समारोहमा उपस्थित हुनका लागि नजिकै भएका गाउँका मानिसहरूको उल्लेख्य उपस्थिति थियो ।

पीडीएफका सदस्यहरू म्यान्मारको विभिन्न भागमा सेनाविरुद्ध सशस्त्र अभियान चलाउने स्वयंसेवकहरू हुन् । म्यान्मारमा जारी गृहयुद्धमा हजारौँ मानिसको मृत्यु भइसकेको छ भने १४ लाख मानिस विस्थापित भएका छन् ।

Army tragic massacre in Myanmar21681225461.jpg

राष्ट्रसङ्घका अनुसार हाल देशको करिब एक तिहाइ जनसङ्ख्यालाई मानवीय सहायताको आवश्यकता छ । विपक्षीहरूको नियन्त्रणमा रहेका गाउँहरूमा बमबारी गर्न सैन्य सरकारले आफूसँग भएका रुसी र चिनियाँ विमानहरूको प्रयोग बढाएको छ ।

एम्बुश, बारुदी धराप तथा विभिन्न प्रकारका विस्फोटक सामग्रीका कारण स्थलसैनिकहरूको आवतजावत कठिन भएको बताइन्छ ।हवाई आक्रमणमा परी धेरै सर्वसाधारण नागरिकहरूको पनि मृत्यु हुन सक्छ ।

बीबीसीले द्वन्द्वको निगरानी गर्ने समूह एक्लेड ९आर्म्ड कन्फ्लिक्ट लोकेशन एन्ड इभेन्ट डेटा प्रोजेक्ट०को तथ्याङ्क विश्लेषण गरेको छ । त्यसमा सन् २०२१ को फेब्रुअरी र सन् २०२३ को ज्यानुअरी बीचमा सेनाले कम्तीमा ६०० वटा हवाई आक्रमण गरेको देखिन्छ ।

सैन्य कूपछि बनेको निर्वासित न्याश्नल यूनिटी गभर्नमेन्टका अनुसार सन् २०२१ अक्टोबर देखि सन् २०२२ सेप्टेम्बरसम्म भएका आक्रमणहरूमा १५५ सर्वसाधारण मारिएका थिए ।

गत अक्टोबरमा काचिन राज्यमा जातीय विद्रोही समूहले आयोजना गरेको एउटा साङ्गीतिक कार्यक्रममा वायुसेनाका विमानहरूले तीनवटा बम खसालेपछि कम्तीमा ५० जनाको मृत्यु भएको थियो ।

Army tragic massacre in Myanmar31681225482.jpg

गत महिना मध्यम्यान्मारको लेट यट कोन गाउँको एउटा विद्यालयमा भएको हवाई आक्रमणमा कम्तीमा पाँच बालबालिका मारिनुका साथै अन्य मानिस घाइते भएका थिए ।

यदि अहिले भएको आक्रमणमा प्रत्यक्षदर्शीहरूले दाबी गरे जस्तै मानिसहरू हताहत भएका हुन् भने त्यो म्यान्मारमा जारी गृहयुद्धको अहिलेसम्मकै सबैभन्दा घातक एकल हमलामध्ये एक हुने छ ।

गत महिना सैन्य सरकारका प्रमुख जेनरल मिन अङ ह्लाइङले सशस्त्र प्रतिरोधी समूहहरूद्वारा गरिएको ूआतङ्कको कार्यूलाई शासनले निर्णायक तवरले सामना गर्ने बताएका थिए । गत साता लडाइँ चर्किँदा हजारौँ मानिसहरू म्यान्मारबाट भागेर थाईल्यान्ड पुगेको जानकारी थाई अधिकारीहरूले केही दिनअघि दिएका थिए । यो समाचार बीबीसीका जोनाथन हेड र निकोलस यङले लेखेका हुन् ।

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  २०:३९
प्रतिक्रिया दिनुहोस्