मेयर बालेनद्वारा सरकारबाट ‘असहयोग’ भएका १४ तथ्य सार्वजनिक

सोमबार, चैत २७, २०७९

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह बालेनले सिंहदरबारको फोहोर नउठाउनका कारण खुलाउँदै सरकारबाट भएका ‘असहयोग’ का १४ तथ्य सार्वजनिक गरेका छन् । 

आज बिहान सामाजिक सञ्जालमार्फत उनले बारम्बार गरिएको प्रयासमाथिको बेवास्तापछि आफू बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णयमा पुगेको स्पष्ट पारेका छन् ।

मेयर बालेनले सरकारको गैरजिम्मेवारी र लापरबाहीपछि आफू यस्तो निर्णय गर्न बाध्य भएको जनाएका छन् ।

‘संघीय सरकारका रूपमा रहेको सिंहदरबारले जनजीविकाका कुरामा स्थानीय सरकारसँग समन्वय गर्न चाहेको पटक्कै महसुस भएन,’ उनले लेखेका छन्, ‘९ महिनामा पटक–पटक पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुरा कार्यान्वयन गर्न मुस्किल भएपछि बाध्यात्मक निर्णयमा म पुगेको हुँ ।’

balen_prachanda-narayankaji1681097608.jpg

यस्ता छन् सरकारको असहयोगबारे उनले सार्वजनिक गरेका १४ तथ्य :

१. गृह मन्त्रालय : अव्यवस्थित बस्ती व्यवस्थापन, ट्राफिक लाइट व्यवस्थापन, मूर्ति चोरी – ३ मन्त्रीसँग पटक पटक पहल, सहमति भएर माइन्युट समेत भइसकेको तर कार्यान्वयन नभएको ।

२. परराष्ट्र मन्त्रालय : विदेशी नियोगले मिचेको फुटपाथ व्यवस्थापन गर्न पत्राचार ।

३. शिक्षा मन्त्रालय : सरकारी विद्यालयको लागि डिजिटल टिभी, शिक्षक सरुवा तथा शिक्षकलाई समयमै तलब दिने सम्बन्धमा – दुई मन्त्रीसँग विभिन्न चरणमा कुरा हुँदा पनि कुरा अगाडि नबढेको ।

४. स्वास्थ्य मन्त्रालय : सरकारी अस्पताल सरसफाइ, बिमा, सर्वोच्च अदालतले दिएको मन्त्रालयको माथिल्लो तल्ला भत्काउने आदेशको पालना, राष्ट्रिय एम्बुलेन्स (१०२) को काठमाडौँ उपत्यका भरी सेवा दिनलाई बजेट व्यवस्थापन – दुई मन्त्रीसँग विभिन्न चरणमा पहल गरिएको ।

५. पर्यटन तथा नागरिक उड्डयन : एयरपोर्टको नक्सा पास, एयरपोर्टको बर्खाको पानीले गर्दा पेप्सीकोला क्षेत्र डुबानको समाधान, एयरपोर्टमा रहेको नेपाल संवत् सुरु भएको ठाउँमा मूर्ति र पार्क बनाउन पहल – दुई मन्त्रीलाई पटक पटक पहल गरिएको ।

६. अर्थ मन्त्रालय : ५२ वर्षदेखि तीनकुनेमा सरकारले जग्गा मिचे पनि जग्गाधनीलाई मुआब्जा दिन आनाकानी, महानगरले पाउनु पर्ने घर बहाल कर नेपाल सरकारले उठाएकोबारे, याङ्री र लार्के खोलाको पानी मेलम्चीमा जोडेर १२ महिना नै काठमाडौँमा मेलम्चीको पानी ल्याउने कार्यक्रम – २ मन्त्रीसँग पटक पटक पहल ।

७. सहरी विकास : खोला कोरिडोर, खोला सरसफाइ, खोलामा फोहोर प्रशोधन प्लान्ट, अन्डर पास, बन्चरेमा लिचेडको व्यवस्थापन, माटो क्यापिङको व्यवस्थापन अनि साइटको ग्यास पाइपको व्यवस्थापन, वैकल्पिक बाटोको व्यवस्थापन, काठमाडौँमै फोहोर व्यवस्थापन गर्न कानुन र जग्गा – ४ मन्त्रीसँग पटक पटक पहल ।

८. भौतिक यातायात : रिङरोड बिस्तार, उपत्यका यातायात प्राधिकरण गठन – दुई मन्त्रीहरूसँग पटक पटक पहल ।

९. सूचना तथा सञ्चार : आइएसपी र टेलिकमबिच एकीकृत पूर्वाधार सञ्चालनबारे जसले गर्दा देशभर पोलमा तार व्यवस्थापन गर्न सकियोस् – २ मन्त्रीसँग पहल ।

१०. ऊर्जा मन्त्रालय : सडक बत्ती अव्यवस्थित रहेकोलाई व्यवस्थापनमा सहयोग – २ मन्त्रीसँग पहल ।

११. खानेपानी : मेलम्चीको पानी र पाइप व्यवस्थापन, प्ग्प्ी को उचित व्यवस्थापन पहल – २ मन्त्रीसँग पटक पटक पहल ।

१२. भूमिसुधार मन्त्रालय : सहकारी नियमावली, सहकारी कानुन, सार्वजनिक जग्गा संरक्षण – मन्त्रीसँग पटक पटक पहल ।

१३. सङ्घीय मामिला : तीनकुने विवाद पहल, कर्मचारी सरुवा – दुई मन्त्रीसँग पटक पटक पहल ।

१४. कृषि मन्त्रालय : मल खरिद तथा उपत्यकामा आउने तरकारीको परीक्षण – मन्त्रीसँग पटक पटक पहल ।

स्वतन्त्र लडेर मेयर भएका बालेनले यसअघि शनिबार सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए । 

स्थानीय नेताहरूले सिसडोलमा फोहोर व्यवस्थापन गर्न पटक–पटक अवरोध गरेको भन्दै मेयर बालेनले सिंहदरबारभित्रबाट निस्कने फोहोर नउठाउने घोषणा गरेका हुन् । 
 

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  ०८:२७
प्रतिक्रिया दिनुहोस्