एमाले अहिले पनि प्रमुख शक्ति : अध्यक्ष ओली

शनिबार, चैत २५, २०७९

काठमाडौं –नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी अहिले पनि देशको प्रमुख शक्तिको रुपमा रहेको दाबी गरेका छन् ।

पार्टी निकट अखिल नेपाल महिला संघको शनिबार काठमाडौंमा सुरु भएको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै ओलीले एमाले अरु पार्टी भन्दा बढि बलियो, व्यापक र अग्लो रहेको बताए । उनले एमालेलाई समाप्त पार्न दुनियाँका सबै शक्तिहरु पनि दाबी गरे ।

पार्टीमा आवद्ध महिलाहरुको निष्ठाकै कारण एमाले अहिले पनि बलियो शक्तिको रुपमा रहन सकेको ओलीको भनाइ छ । उनले भने, ‘अहिले एमाले जुन ठाउँमा छ । मैले धेरै ठाउँ भन्ने गरेको छु–आज पार्टी दुनियाँ लागेर, घेरेर, छेकेर, चक्रव्यूहमा पारेर पार्टीलाई समाप्त पार्न खोज्दा पनि समाप्त हुन नदिएर, कसैले एमाले विरुद्ध तरबार चलायो भने महिला दिदीबहिनीहरु ढाल बनेर महिलाहरुले छेकेका छन। अनमेसंघ र अरु संगठनहरु सक्रिय छन् ।’

‘नेकपा एमाले फेरी पनि जुरुक्क उठेको छ । अरुभन्दा अलि बलियो, अरुभन्दा अघि ब्यापक, अरु भन्दा अघि अग्लो त्यस रुपमा एमाले उभिएको छ’, ओलीले भने ।

अध्यक्ष ओलीले अनेमसंघले आफ्नो संगठनकी पूर्वअध्यक्ष विद्या भण्डारीलाई नेपालको पहिलो महिला राष्ट्रपति बनाएर मुलुककै लागि गर्व गर्न लायक काम गरेको पनि दोहोर्‍याए । 

एमाले भित्र अहिले कुनै पनि गुटबन्दी नभएको भन्दै अध्यक्ष ओलीले निहित स्वार्थका लागि गुट बनाउने काम नगर्न सचेत गराए । उनले पार्टी भित्र योग्यता, क्षमता र काम गरेर जिम्मेवारी दिइने पनि स्पष्ट पारे । 

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १७:०८
प्रतिक्रिया दिनुहोस्