सरकारको नीति तथा कार्यक्रममा माओवादीले माग्यो सुझाव

शुक्रबार, चैत २४, २०७९

काठमाडौं –नेकपा (माओवादी केन्द्र)ले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयहरुमा सुझाव माग गरेको छ ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय विभागका प्रमुखहरुसँग प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित पदाधिकारीहरुले छलफल गरेका थिए । उक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयहरुमा सुझाव माग गरेका हुन् ।

बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई सहयोग पुग्नेगरी सुझाव दिन आग्रह गरे ।

बैठकमा सहभागी माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले नीति तथा कार्यक्रमबारे पाँच दिनभित्र सुझाव दिन पार्टीका केन्द्रीय विभागका प्रमुखहरुलाई आग्रह गरिएको बताए ।

प्राप्त सुझाव अध्ययन गरेर नीति तथा कार्यक्रममा समेटिने उनले बताए । सचिव पौडेलका अनुसार आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमबारे सुझाव संकलनको काम चलिरहेको छ । सोही क्रममा पार्टीले आफ्ना कमिटीलाई पनि सुझाव दिन भनेको हो ।

विभागहरुले  विषय विज्ञहरुलाई समेत राखेर प्रधानमन्त्रीलाई लिखित रूपमा सुझाव दिने तयारी गरेका छन् । माओवादीका ३४ विभागमध्ये अधिकांश निष्क्रिय भएकाले कस्तो सुझाव आउँछ भन्ने विषयमा महत्त्वका साथ हेरिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १९:३२
प्रतिक्रिया दिनुहोस्