मुगुमा नेत्रज्योति संघको निःशुल्क आँखा शिविर, १५४ जनाले पाए गुमेको ज्योति

शुक्रबार, चैत २४, २०७९

काठमाडौँ– नेपाल नेत्रज्योति संघको आयोजनामा हिमाली जिल्ला मुगुका दुई वटा स्थानिय तहमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । नेत्रज्योति संघ आँखा उपचार केन्द्र मुगुको स्थानीय आयोजना, हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग र नेत्रज्योति संघ एकिकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णालीको आर्थिक सहयोग र आईकेयर फाउन्डेसनको बिशेष सहयोगमा उक्त शिबिरहरू आयोजना गरिएको हो ।

उक्त दुईवटा आँखा शिविर मार्फत १ हजार १ सय १८ जना बिरामीहरुको आँखा परिक्षण गरिएको छ भने १५४ जनाको निःशुल्क शल्यक्रिया समेत भएको छ । उक्त शिविरमार्फत हुम्ला जिल्लाका साथै छिमेकी जिल्ला जुम्ला र हुम्लाका नागरिकसमेत लाभान्वित भएका छन् ।

चैत्र १५ गतेदेखि १७ गतेसम्म मुगुको छायाँनाथ रारा नगरपालिका गमगढीमा सञ्चालित शिविरमा ६४७ जना बिरामीहरूको निःशुल्क आँखा जाँच गरिएको थियो । उक्त शिविरमा आँखा जाँच गराएका बिरामीमध्येमा मोतिबिन्दु देखिएको ६५ जनाको निःशुल्क शल्यक्रियासमेत गरिएको नेपाल नेत्रज्योति संघका केन्द्रीय उपाध्यक्ष तिलकबहादुर मल्लले बताए ।

त्यस्तै मुगुकै खत्याड गाँउपालिकामा चैत्र २० गतेदेखि २२ गतेसम्म सञ्चालन गरिएको शिविरमा ४७१ जनाको आँखा जाँच गरी मोतिबिन्दु देखिएका ८७ जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको थियो भने २ जनाको माइनर सर्जरीसमेत गरिएको थियो ।

दुईवटै शिविरमार्फत ४८४ जना बिरामीहरुलाई निःशुल्क चस्मा समेत वितरण गरिएको मल्लले जानकारी दिए । पहुँच र आर्थिक अभावमा कोही पनि नागरिकहरु दृष्टिविहीन बस्न नपरोस् भन्ने हेतुले संघले दशैभरी निःशुल्क आँखा शिविर सञ्चालन गरिरहेको मल्लले बताए ।

नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराका नेत्रअधिकृत गोविन्दनाथ योगीको नेतृत्वमा गएको स्वास्थ्यकर्मीहरूको टोलीले आँखा शिविर सञ्चालन गरेको हो ।  

मोतीबिन्दु रोग नेपालमा रहेको दृष्टिविहीनताको सबैभन्दा प्रमुख कारण हो । जुनसुकै उमेरका मानिसमा पनि यो समस्या देखिन सक्छ । तर, अधिकांशमा उमेर बढ्दै गएपछि मोतिबिन्दु हुने सम्भावना पनि बढ्दै गएको पाइन्छ ।

चिकित्सकहरूका अनुसार मोतिबिन्दु भइसकेपछिको सबैभन्दा प्रभावकारी उपचार शल्यक्रिया नै हो । यो रोग औषधिले ठीक हुँदैन । शल्यक्रिया गर्न नपर्ने अवस्थामा चश्माको प्रयोगबाट पनि धरै हदसम्म सफा हेर्न मद्दत गर्दछ । तर पूर्ण सफा हेर्नको लागि शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । आजभोलि प्रविधिमा आएको विकासले मोतिबिन्दुको शल्यक्रिया गरेको केही घण्टामै बिरामी आफ्नो सामान्य दैनिकीमा फर्कन सक्छन् ।

नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित विभिन्न अस्पतालले विभिन्न संघ संस्थासँगको सहकार्यमा देशैभरी बार्षिक हजारौँ निःशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् ।

नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढी आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरूमार्फत हरेक जिल्लाका नागरिकलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १२:२०
प्रतिक्रिया दिनुहोस्