दाङमा २७३ उद्योग बन्द, व्यवसायी विस्थापित हुने क्रम बढ्दै

बिहीबार, चैत २३, २०७९

घोराही– दाङमा चालु आर्थिक वर्ष २०७९-८० को फागुन मसान्तसम्ममा दुई सय ७३ उद्योग तथा फार्म बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योग तथा वाणिज्यतर्फ उद्योग तथा फार्म बन्द भएका हुन् । 

कार्यालय प्रमुख लालबहादुर गुरुङका अनुसार बन्द भएका फार्म एक सय ३० उद्योगतर्फ र एक सय ४३ वाणिज्यतर्फका रहेका छन् । अधिकांशले व्यापारमा घाटा लागेको, परिवारका सदस्य विदेश गएकाले  चलाउन नसक्ने, विदेश जाने तयारीमा रहेकालगायत कारण उल्लेख गरेको गुरुङले बताए । कार्यालयले बन्द गराउनुको कारण खोजी गर्न थालेको उनको भनाइ छ । 

‘पहिला फार्म बन्द गर्नुको कारण मौखिकरुपमा सोध्ने गरिए पनि अहिले लिखितरुपमा नै जानकारी माग्न थालेका छौँ,’ प्रमुख गुरुङले भने । 

विभिन्न समस्याले गर्दा उद्योगी तथा व्यवसायी विस्थापित हुने क्रम बढेको जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कसिंह बुढाथोकीले बताए । ‘दैनिक उद्योगी तथा व्यवसायी विस्थापित हुने क्रम बढदै गएको छ,’ उनले भने । कोभिड–१९, आर्थिकमन्दी, घर भाडा एवं बैंकको ब्याज वृद्धिजस्ता कारणले विस्थापित हुने क्रम बढेको उनको भनाइ छ । सरकारले समयमै समस्याको समाधान नगरे अझ धेरै उद्योगी तथा व्यवसायी विस्थापित हुने अध्यक्ष बुढाथोकी बताउँछन् । 

‘व्यापार व्यवसाय दैनिक घट्दै गएको छ, बैँकको व्याज बढेको छ ।  यसले धेरै समयस्या निम्त्याएको छ,’ उनले भने । घोराहीमा मात्र करिब दुई सयभन्दा बढी सटर खाली भइसकेका छन् । यो क्रम निरन्तर बढीरहेको छ । 

तुलसीपुरमा क्षेत्रमा पनि उद्योगी तथा व्यवसायी विस्थापित हुने क्रम बढेको तुलसीपुर उद्योग वाणिज्य सङ्घका महासचिव विनील केसीले जानकारी दिए । तुलसीपुरमा एक सयभन्दा बढी उद्योगी तथा व्यवसायी विस्थापित भएका छन् ।  ‘उद्योगी व्यवसायीको यस क्षेत्रबाट अलग हुन खोजेको पाइएको छ,’ उनले भने । 
         
देउखुरी क्षेत्रमा पनि उद्योगी तथा व्यवसायी विस्थापित हुने क्रम जारी रहेको देउखुरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेश्वर खनालले जानकारी दिए । ‘भाडामा लगाइएका सटर खाली हुँदै गएका छन् । नयाँ सटर भाडामा जान सकेका छैनन्,’ उनले भने ।  
 

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  ११:३१
प्रतिक्रिया दिनुहोस्