Nic Ad Nic Ad
Nic Ad Nic Ad

बेलायतका नयाँ राजा चाल्र्सको राज्याभिषेक मे ६ मा

बिहीबार, चैत २३, २०७९

लन्डन– बेलायतका राजा चाल्र्स तृतीयको आगामी मे ६ तारिखमा लन्डनस्थित वेस्टमिनिष्टर गिर्जाघरमा हुने भएको छ । सात दशकपछि देशमा राज्याभिषेकको तयारी द्रुत गतिमा भइरहेको छ । राज्याभिषेक समारोह तीन दिनसम्म मनाइने छ । वेस्टमिनिष्टर एबेमा विगत नौ सय वर्षदेखि राज्याभिषेक समारोह हुँदै आएका छन् । 

गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयको निधन भएपछि राजसिंहासन सम्हालेका राजा चाल्र्सको राज्याभिषेकको निमन्त्रणापत्रमा ‘क्विन कन्सोर्ट’ पदवी पाएकी क्यामिलालाई रानीको दर्जा दिइएको छ । उनले पनि सोही समारोहमा रानी मेरीको मुकुट लगाउनेछिन् । राजा जर्ज पाँचौँसँगै रानी मेरीले उक्त मुकुट सन् १९११ पहिरिएका थिए । विश्व इतिहासमा ७० वर्ष राजसिंहासन सम्हाल्ने कीर्तिमान महारानी एलिजावेथका नाममा दर्ज भएको छ ।  

वकिङघम राजप्रासादले आज सार्वजनिक गरेको निमन्त्रणासम्बन्धी एक विवरणअनुसार राज्याभिषेक समारोहमा दुई हजार पाहुनालाई आमन्त्रण गरिने छ । राजाप्रसादले आमन्त्रण हुने व्यक्तिको सूची जारी गरेको छैन । राजा चाल्र्सले राजमुकुट लगाउने समारोह उनकी आमाको सन् १९५३ मा भएको राज्याभिषेक समाराहभन्दा छोटो हुनेछ । 

महारानी एलिजावेथको राज्याभिषेक समारोह करिब तीन घण्टा चलेको थियो भने त्यसमा एक सय २९ राष्ट्रका आठ हजार दुई सय ५१  देश र क्षेत्रका प्रतिनिधिले भाग लिएका थिए । दुई हजार पाहुनाले भाग लिने राजा चाल्र्सको राज्याभिषेक करिब एक घण्टा चल्नेछ  । राजप्रासादले रानी क्यामिला र राजा चाल्र्सको औपचारिक तस्बिर र निम्तापत्र पनि सार्वजनिक गरेको छ । 

ब्रिटिस बोडकास्टिङ कर्पोरेशन (बिबिसी)लगायत विश्वका प्रमुख विद्युतीय सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण हुने राज्याभिषेक समारोह सशरीर उपस्थित भएर हेर्न संसारभरका देशबाट राजनेता, राष्ट तथा सरकार प्रमुख, राजारानी एवम् राजपरिवारका सदस्य, विश्वका विभिन्न देशका प्रतिष्ठित व्यक्ति उपस्थित हुनेछन् । 

यसैबीच, मोनाकोका राजकुमार अल्बर्ट, जापानका राजकुमार फुमिहितो र उहाँकी भार्या किकोलगायत केही विदेशी राजपरिवारले समारोहमा उपस्थित हुने जनाएका छन् । अमेरिकाको प्रतिनिधित्व प्रथम महिला जिल बाइडेनले गर्ने भएका छन् । 

विविध सांस्कृतिक कार्यक्रमका साथ धूमधामका साथ मनाइने राज्याभिषेक समारोहमा एक दिन अर्थात् मे आठमा बेलायतभर सार्वजनिक बिदा दिइनेछ । 
 

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  ०५:२४
प्रतिक्रिया दिनुहोस्