आयोजना कार्यान्वयन प्रभावकारी बनाइदिन अर्थमन्त्रीलाई विश्व बैंक र एडिबीको आग्रह

बुधबार, चैत २२, २०७९

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतसँग नेपालका दुई ठूला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंक (एडिबी)का प्रतिनिधिले छलफल गरेका छन् ।

विश्व बैंकको टोलीले मङ्गलबार र एडिबीको टोलीले आज बुधबार बिहान अर्थमन्त्री महतसँग छलफल गरेको हो । छलफलका क्रममा ती दातृ निकायहरुले नेपालमा लगानी गरेका विभिन्न आयोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्न अर्थमन्त्रीसमग्र आग्रह गरेका छन् ।

‘उहाँहरू नेपाललाई सहयोग गर्न उत्साहित हुनुहुन्छ । उहाँहरूको चाँसो र चिन्ता भनेको दिइएको सहयोग समयमा खर्च हुन सकेन भन्नेमा छ ।’, आज बिहान एडिबीका देशीय निर्देशक अर्नौड काउसिससँगको छलफलपछि अर्थमन्त्री महतले भने, ‘आयोजनाको जग्गा अधिग्रहण (साइट क्लियरेन्स) समयमा नभएर समस्या भएको छ । जसकारण ठेक्का प्रक्रिया अघि बढ्न नसकेको र कामले गति लिन सकेको छैन भन्ने उहाँहरुको चासो छ ।’

छलफलका क्रममा नयाँ विकास आयोजना र कार्यक्रमबारे पनि छलफल भएको उनले बताए । ‘उहाँहरूले विभिन्न क्षेत्रमा सहयोग गर्न चाहन्छौं भन्नुभएको छ । एसियाली विकास बैंकले दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना र विश्व बैंकले माथिल्लो अरुण जलाशययुक्त जलविद्युत् आयोजनामा चासो देखाइरहेका छन् । त्यस्तै, सडक आयोजनाहरुमा पनि बजेटरी सहयोगका लागि उनीहरुको चासो छ ।’, अर्थमन्त्री महतले भने ।

नेपालले अनुदान र सहुलियतपूर्ण ऋणलाई बढी प्राथमिकता दिनेबारे ती विकास साझेदारलाई आफुले जानकारी गराएको पनि महतको भनाइ छ । ‘उहाँहरुले अझै धेरै सहयोग गर्न चाहेको बताइरहँदा हामीले पनि अनुदान र सहुलियतपूर्ण ऋणलाई प्राथमिकतामा राख्ने भनेका छौं । यसमा उहाँहरु पनि सहमत हुनुहुन्छ’, महतले भने ।

नेपालको समग्र आर्थिक अवस्था सुधारका लागि सरकारले चाल्ने कदमबारे पनि विश्व बैंक र एडिबीले चासो देखाएका छन् । तात्कालिन आर्थिक समस्या र सरकारको प्राथमिकताबारे अर्थमन्त्रीसँग चासो राखेका थिए । अर्थतन्त्रमा देखिएका समस्या समाधान र मुख्यगरी खर्च गर्ने क्षमतामा देखिएको समस्यालाई बिस्तारै हटाउँदै जानेबारे प्रतिवद्ध रहेको अर्थमन्त्री महतले भने ।

अर्थमन्त्रीका रुपमा कार्यभार सम्हालेलगत्तै महतले नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड, निजी क्षेत्रका छाता सङ्गठनहरु, विकास साझेदारलगायत क्षेत्रसँग परामर्श थालेका छन् । तात्कालिन अवस्थामा अर्थतन्त्रमा खस्किएको मनोबल उकास्नु आफ्नो पहिलो काम हुने पनि महतले बताउँदै आएका छन् ।

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  २०:२७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार