प्रिमियर लिग :

अग्रता जोगाउन नसक्दा लिभरपुलको सिटीसँग फराकिलो हार

आइतबार, चैत १९, २०७९

काठमाडौँ– सुरुवाती अग्रता जोगाउन नसक्दा लिभरपुलले म्यानचेस्टर सिटीमाथि फराकिलो हार ब्यहारेको छ ।

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति इतिहाद रंगशालामा भएको खेलमा लिभरपुल घरेलु टोली लिभरपुलसँग ४–१ ले पराजित भएको हो ।

मोहम्मद सलाहले खेलको १७ औँ मिनेटमा नै गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, उक्त अग्रता लिभरपुलले १० मिनेटभन्दा बढी जोगाउन सकेन । 

सिटीका जुलियन अल्भारेजले २७ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुवातीमै सिटी हाबी भयो । खेलको ४६ औँ मिनेटमा केभिन डे ब्रुउनेले गोल गरेपछि सिटीले अग्रता बनाउन सुरु गर्यो ।

त्यसपछि खेलको ५३ औँ मिनेटमा इकाए गुन्डोगानले सिटीका लागि थप गोल गरेपछि ३–१ ले अघि बढ्यो ।  र, अग्रतालाई कायम राख्दै अघि बढेको सिटीका लागि ७४ औँ मिनेटमा ज्याक ग्रिलिसले गोल गरेपछि फराकिलो जित दर्ता हुन पुग्यो ।

यो जितसँगै सिटी २८ खेलबाट ६४ अंक बनाउँदै लिगको दोस्रो स्थानमा यथावत् छ । लिभरपुल भने ४२ अंक जोडर लिगको आठौँ स्थानमा छ । 

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  ०७:३६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार