तुलसीपुरमा ६ किमी सडक कालोपत्र गर्ने काम सकियो

आइतबार, चैत १९, २०७९

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका– १२ को पुकार पसलबाट सिद्धार्थ चोकसम्म सडक कालोपत्रको काम सकिएको छ ।

त्यहाँ चार सय ९० मिटर सडक कालोपत्र भएको हो । त्यस्तै सोही वडाको अशोकचोकबाट सिदार्थचोकसम्मको चार सय ८० मिटर सडक पनि कालोपत्र भएको छ भने कपडादेवीबाट चौधरीगाउँसम्मको तीन सय ६० मिटर सडक कालोपत्र भएको छ ।

यस्तै तुलसीपुर–६ प्रगतिनगर टोलको तीन सय ६० मिटर सडक कालोपत्र भएको छ भने तुलसीपुर–५ को भुह्यार थानबाट पूर्वतर्फ गएको सडक एक सय ९० मिटर सडक कालोपत्र भएको छ । 
त्यस्तै तुलसीपुर–८ अस्वाराबाट हरियाली उद्यान जाने एक सय ५० मिटर सडक कालोपत्र भएको छ ।

गाउँ–गाउँमा यस्तै थुप्रै सडक कालोपत्र भएका छन् । चालु वर्षमा ४५ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्यअनुसार रु पाँच करोड बजेट छुट्याएको तुलसीपुर उपमहानगरपालिकाका इन्जिनियर पवनकुमार योगीले बताए । विकास प्राधिकरणमार्फत ती सडक कालोपत्र गरिएको हो । 

‘सबै वडामा कालोपत्र सडक पुर्याउनका लागि विकास प्राधिकरणमार्फत काम भइरहेको छ,’ उनले भने, ‘सडक कालोपत्रको काम धमाधम भइरहेको छ ।’

चालु वर्षको हालसम्म ६ किलोमिटर सडक कालोपत्र भइसकेको छ । विभिन्न २६ सडक कालोपत्रको काम भइरहेको उनले बताए । सडक सञ्जाल नै विकासको एउटा आधार भएकाले यसको विस्तारका लागि उपमहानगरपालिका सक्रिय भएर लागेको उपप्रमुख स्यानी चौधरीले बताए । उनका अनुसार सडक गुण्स्तरीयतामा पनि उत्तिकै ध्यान दिइएको छ । 
 

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  ०७:१४
प्रतिक्रिया दिनुहोस्