चेन्नाईमाथि गुजरातको अपराजित यात्रा कायमै, उद्घाटन खेलमा ५ विकेटले हरायो
काठमाडौँ– १६ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)को उद्घाटन खेलमा साविक विजेता गुजरात टाइटन्सले घरेलु टोली चेन्नाई सुपर किंग्सलाई हराएको छ ।
अहमदाबादस्थित विश्वकैै ठूलो क्रिकेट रंगशालामा गएराति भएको खेलमा चेन्नाईलाई ५ विकेटले पराजित गरेको हो ।
चेन्नाईले दिएको १७८ रनको लक्ष्य गुजरातले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
गुजरातका लागि ओपनर शुभमन गिलले सर्वाधिक रन बनाए । उनले ६३ रनको अर्धशतकीय पारी खेलेका थिए ।
यस्तै, विजय शंकरले २७ तथा ऋिद्धिमान शाहले २५ रन बनाए । साई सुदर्शनले २२, राहुल तेवातियाले अविजित १५, राशिद खानले अविजित १० तथा हार्दिक पाड्याले १० रन जोडे ।
गुजरातका मोहम्मद सामी, अल्जारी जासेफ र राशिद खानले समान २-२ तथा जोश लिटिलले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाएको हो ।
ऋतुराज गायकवाडले ५० बलमा ४ चौका र ९ छक्काको सहयोगमा ९२ रनको अर्धशतकीय पारी खेले ।
यसैगरी, मोइन अलीले २३ तथा शिवम दुवेले १९ रन बनाए ।
चेन्नाईका लागि यही खेलमा आइपिएलमा डेब्यू गरेका राजवर्धन हांगर्गेकरले ३ तथा तुसारदेश पाण्डे र रवीन्द्र जडेजाले समान १÷१ विकेट लिए ।
साविक विजेता गुजरातले जारी आइपिएलमा सुखद सुरुवात गर्ने क्रममा चेन्नाईविरुद्ध अपराजित यात्रालाई जारी राखेको छ । ३ खेल खेल्दा गुजरातले सबैमा जित निकालेको छ ।
पहिलो खेलमा नै जित हात पारेको गुजरात १० टोली सहभागी रहेको प्रतियोगिताको शीर्ष स्थानमा रहेको छ ।