आज ३ बजे विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शर्मा

शुक्रबार, चैत १७, २०७९

काठमाडौँ– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज दिउँसो ३ बजे  विश्वासको मत लिँदैछन् ।

प्रदेशसभा प्रमुख सचिव जिवराज बुढाथोकीले आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिनेगरी व्यवस्थापन भइरहेको जानकारी दिए ।
  
कर्णाली प्रदेशमा तत्कालीन एमाले–माओवादी केन्द्र गठबन्धनबाट शर्मा मुख्यमन्त्री बनेका हुन् । उनी माओवादीका नेता हुन् । 

मुख्यमन्त्री बन्दा समर्थन गरेको राप्रपाले समर्थन फिर्ता लिएपछि शर्माले पुनः विश्वासको मत लिन लागेका हुन् ।

२७ पुसमा एमाले, एकीकृत समाजवादी र राप्रपाको समर्थनमा माओवादी संसदीय दलका नेता शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

६ माघमा विश्वासको मत लिएका शर्मालाई एमाले, राष्ट्रिय राप्रपा, एकीकृत समाजवादी र एक स्वतन्त्र गरी २५ सांसदले विश्वासको मत दिएका थिए । तर राष्ट्रपतिको निर्वाचनलाई लिएर केन्द्रमा नयाँ समीकरण बनेर पुरानै गठबन्धन ब्युँतिएपछि राप्रपाले मुख्यमन्त्री शर्मालाई दिएको समर्थन फिर्ता लिएको थियो ।


कर्णाली प्रदेशमा नेपाली कांग्रेसेका १४, माओवादीका १३, एमालेका १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका १-१ जना सांसद छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १२:२०
प्रतिक्रिया दिनुहोस्